भारत र पाकिस्तान मैदानमा, भारतले बनायो टस हार्ने रेकर्ड
हाम्रा कुरा
प्रकाशित २०८१ फागुन ११ आइतबार
523
Shares
काठमाडौँ । च्याम्पियन्स ट्रफी क्रिकेटमा भारत र पाकिस्तान भिडिरहेका छन् । खेल दिउँसो २ः४५ बजेदेखि दुबईको तटस्थ मैदानमा भइरहेको हो ।
खेलमा टस जितेर पाकिस्तानले पहिले ब्याटिङ गरिरहेको छ । भारतले टस हार्ने रेकर्ड बनाएको छ । भारतले लगातार १२ एक दिवसीयमा टस हार्ने रेकर्ड बनाएको हो ।
यसअघि नेदरल्याड्सले ११ पटक टस हारेको थियो ।
पाकिस्तान आयोजक रहेको भए पनि भारतले सुरक्षाको कारण देखाउँदै जान नमानेपछि तटस्थ स्थल दुबईमा भइरहेको हो ।
भारत र पाकिस्तान बीचको खेल केबल क्रिकेट खेलमात्र नभइ भूराजनीतिसमेत जोडिने भएकाले विश्वभर चासो रहने गर्दछ ।
भारत र पाकिस्तान २५९ दिनपछि आमने सामने भएका छन् । दुवै टिमले केबल आईसीसी र एसीसी प्रतियोगितामा मात्र भिड्ने भएकाले सबैको ध्यान खिचिँदै गएको हो ।
पछिल्लो पटक सन् २०२४ को जुन ९ तारिखमा टी–२० विश्वकपमा दुवै टिम आमने सामने भएका थिए ।
त्यस्तै एक दिवसीय २०२३ को अक्टोबर १४ तारिखमा विश्वकपमा आपसमा भिडेका थिए । दुवै भिडन्त भारतले जितेको थियो ।
सन् २००७–८ को मुम्बई आतंकवादी हमलापछि भारत पाकिस्तानमा गएको छैन । त्यसयता सबैजसो खेल भारतले नै जित्दै आएको छ । पाकिस्तान भने भारतमा आएर खेलेको थियो ।
भारत भने सन् २००८ मा तीन खेलको टेष्ट श्रृंखला खेल्न पाकिस्तान गएको थियो ।
एक दिवसीयमा अहिलेसम्म भारत र पाकिस्तानबीच १३५ एक दिवसीय खेल भएको छ । जसमा भारतले ५७ तथा पाकिस्तानले ७३ खेल जितेको छ । ५ खेल निर्णयविहीन भएको छ ।
च्याम्पियन्स ट्रफी
जारी च्याम्पियन्स ट्रफीको समूह चरणको पहिलो खेलमा पाकिस्तान न्यूजिल्याण्डसँग पराजित भएको थियो । भारतले भने बंगलादेशलाई हराएको थियो । अर्को चरण प्रवेशका लागि पाकिस्तानलाई जित्नैपर्ने दबाब रहेको छ ।
भारतले जित्दा सेमिफाइनलमा पुग्नेछ । यता पाकिस्तानी प्रशंसकहरुसमेत खेल भारतले जित्ने बताइरहेका छन् ।
भारतका लागि विश्व नम्बर १ शुबमन गिल रहेका छन् भने पाकिस्तानका लागि विश्व नम्बर २ बाबर आजम रहेका छन् ।
गिलले बंगलादेशविरुद्ध शतक बनाएका थिए भने आजमले न्यूजिल्याण्डविरुद्ध अर्धशतक बनाएका थिए ।
यता पाकिस्तानमा खेल्न नगइ विराट कोहलीको करियर अधुरो हुने विश्लेषण गर्दै पाकिस्तानी क्रिकेटरहरुले भारतले खेललाई राजनीतिमा जोड्न नहुने बताउँदै आएका छन् ।