काठमाडौँ । आईसीसी च्याम्पियन्स ट्रफी त्रिकेटको चौथो खेलमा अष्ट्रेलियाले इङ्गल्याण्डलाई हराएर इतिहास रचेको छ । जोश इङ्गलिसको अविजित शतकको मद्दतले अस्ट्रेलियाले च्याम्पियन्स ट्रफीको इतिहासमा सबैभन्दा ठूलो लक्ष्य हासिल गरेको हो ।
पाकिस्तानको लाहोरमा खेलिएको खेलमा इङ्ग्ल्याण्डले अष्ट्रेलियालाई जितका लागि ३५२ रनको लक्ष्य दिएको थियो । तर अस्ट्रेलियाले १५ बल बाँकी रहँदा निकै रोमाञ्चक खेलमा यो लक्ष्य हासिल गर्यो ।
अष्ट्रेलियाली टोलीले टस जितेर इङ्ग्ल्याण्डलाई पहिले ब्याटिङ गर्न निम्तो दिएको थियो। इङ्ग्ल्याण्डको शुरुआत राम्रो भएन । ६ ओभर भित्र दुई विकेट गुमायो ।
तर बेन डकेटको १६५ र जो रुटको ६८ रनले इङ्ल्यान्डलाई ३५१ को स्कोरमा पुर्याउन मद्दत गर्यो । यो च्याम्पियन्स ट्रफीको उच्च योगफल थियो । अस्ट्रेलियाका लागि बेन द्वारशिवले तीन विकेट लिए ।
यो लक्ष्य पछ्याउने क्रममा अष्ट्रेलियाले पनि २७ रनमा दुई विकेट गुमायो । यद्यपि एलेक्स क्यारीले ६९ तथा म्याथ्यु शर्टले ६३ रन बनाएर अस्ट्रेलियालाई खेलमा फर्काए ।
इङ्गलिशले ८६ बलमा १२० रन बनाएर अविजित रहे र टोलीलाई जित दिलाए ।
जारी आइसीसी च्याम्पियन्स ट्रफी अन्तर्गत आज बहुप्रतिक्षित भारत र पाकिस्तानबीचको खेल हुँदैछ ।