arrow

पठन मात्रामा उमेर वृद्धिको प्रभाव

logo
शीतल गिरी,
प्रकाशित २०८१ फागुन १० शनिबार
sheetal-giri-81-11-3.jpg

अन्य रुचिहरूजस्तै पठनरुचि पनि व्यक्तिको पठनसम्बन्धी मन पर्ने–नपर्ने तथा पठनकार्यमा सक्रियता सम्मिलित हुने तीव्र आकांक्षासँग सम्बद्ध छ । पठनरुचिको सम्बन्धमा विचारगर्दा मुख्यतः दुईकुरोमा ध्यानदिनु पर्दछ— पठन मात्रा र पठन प्रकार । पठनको साधारणतः तीन प्रकार हुन सक्दछ— समाचारपत्र पठन, पत्रिका पठन र पुस्तक पठन । पाठकहरूको पठन रुचिलाई सामान्य रुपले र उपन्यास पठनरुचिमा विशेष रूपले विचार गर्नु अपेक्षित छ । पठनरुचिमा थुप्रै आन्तरिक र बाह्य हेतुहरूको प्रभाव पर्नु स्वभाविक हो ।
    
कुनै व्यक्ति कुनै वस्तुलाई किन मन पराउँछ, यसको उत्तर तत्काल दिन अत्यन्त कठिन छ । जब हामी कुनै लेखकको कुनै कृतिको प्रशंसा गर्दछौँ त हामी सामान्यतः त्यसको रचनाशक्तिको त्यति प्रशंसा गर्दैनौँ, जति उसको यस विशेषताको, कि त्यस लेखकले कसरी हाम्रो मस्तिष्कमा पहिलेदेखि विद्यमान भावनाहरू, विचारहरू र अर्धसपनाहरूलाई साकार बनाइदियो । 

भावनाहरू र विचारहरूको बारेमा हामीलाई नगन्य रुपमा मात्र ज्ञात हुने गर्दछ, यसकारण यसलाई अमूर्त भनिन्छ । यदि हामी कुनै पुस्तकमा व्यक्त भावहरू र विचारहरूलाई चिन्न सक्यौँ भने त हामीमध्ये कोही फरक रहने छैन । काव्यग्रन्थहरूको विशेषता यो हुने गर्दछ कि तिनीहरूले हामीलाई नयाँ सूचनाहरू त्यति दिँदैनन् जति हाम्रो मनमा पहिलेदेखि विद्यमान भावनाहरू, धारणाहरू, विचारहरू र अस्पष्ट सपनाहरूलाई साकार पार्दछ ।
    
यदि यस्तो कुरो न हुँदो हो त कुनै पुस्तक पढेर हाम्रो भावनाहरूमा कुनै प्रतिक्रिया हुने थिएन । अब प्रश्न उठ्दछ कि हाम्रा भावनाहरू र विचारहरूमा कुन हेतुहरूको प्रभाव पर्दछ । व्यक्तिको पठनरुचिको स्वरुप पनि उमेर, लिङ्ग, आर्थिक र पारिवारिक स्थिति, बौद्धिक र शैक्षणिक स्तर, पेशा, निवासस्थान तथा आवेष्टनगत हेतुहरूद्वारा निर्धारित हुन्छ । यी हेतुहरू न केवल व्यक्तिको पठन प्रकारलाई, बरु उसको पठन मात्रालाई पनि, प्रभावित पार्दछ, सामान्यतः मानिसहरूमा यो धारण प्रचलित छ कि उमेर वृद्धिको अनुसार व्यक्तिको रुचिमा स्पष्ट परिवर्तन हुन्छ ।
    
उमेर वृद्धिको साथ रुचिहरूमा परिवर्तनको प्रवृत्ति त्यति धेरै देखा पर्दैन, जति विभिन्न किसिमको रुचिहरूमा विभिन्नता देखापर्दछ । एडवर्ड के.स्ट्रौंग नामक मनोवैज्ञानिकले लेखेका छन् कि “२५ वर्षको उमेरसम्म एउटा युवक जे बन्नु पर्ने हो, बन्दछ । यहाँसम्म कि २० वर्षको अवस्थामा नै ऊ ती सबै रुचिहरूलाई आफूमा विकास गरिसक्दछ, जसलाई ऊ आफ्नो प्रौढावस्थामा अपनाएको पाइन्छ ।”
    
प्रौढावस्था या वृद्धावस्थामा व्यक्तिमा नवीन रुचिहरूको विकासको सुविधाहरू र व्यक्तिको मूल प्रेरक शक्तिहरूमा कुनै महत्वपूर्ण परिवर्तन घटित भैजाओस् । कहिलेकाहिँ वृद्धावस्थामा मानिस चित्रकला, संगीत वा पठनमा अत्यधिक रत भएको पाउँदछौँ, जबकि प्रौढावस्थामा यी विषयहरूमा उसको अलिकति पनि थिएन । तर यसको अर्थ यो होइन कि ती व्यक्तिहरूको वृद्धावस्थामा ती रुचिहरूको उदय हुने गर्दछ । 

वृद्धावस्थामा जब उसले अवकाश पाउँदछ तब उसले आफ्नो अपूरित रुचिलाई सक्रियता प्रदान गर्ने प्रयास गर्दछ । रुचिमा द्रूततम स्थानान्तरणको काल किशोरावस्था हो, जबकि व्यक्तिको शारीरिक र मानसिक बनावटमा सुस्पष्टतम् परिवर्तन हुने गर्दछ । 

प्रौढावस्थामा व्यक्तिले थुप्रै प्रकारको उत्तरदायित्व सम्हाल्नुपर्दछ । परिणामस्वरुप ऊ आफूलाई ती मनोरञ्जनहरूमा सीमित गर्दछ, जसबाट उसले सर्वाधिक सन्तोष प्राप्त गर्नेमात्र होइन, बरु जो समय र अर्थको दृष्टिले पनि उसको लागि सर्वाधिक व्यावहारिक हुने गर्दछ । 

सांस्कृतिकता या उपवेशनात्मक रुचिहरूमा पठनको स्थान सर्वोपरि छ, किनभने एकातिर त यसलाई एकान्तमा, बिना कुनै सहयोगको अपेक्षा गरेर, सम्पन्न गर्न सकिन्छ, र अर्कोतिर, यसमा वैविध्यको लागि पर्याप्त गुंजाइश छ । उमेरको प्रभाव पठनरुचिमा— पठनको मात्रा र प्रकार दुवैमा— देखा पर्दछ । उमेर वृद्धिको साथमा सांस्कृतिक मनोरञ्जनहरूको, जसमा पठन प्रधान छ, प्रमुखता पाउने गर्दछ । शैशवावस्थामा, व्यक्तिमा, पढनेरुचि त अवश्य हुन्छ, पत्रिकासम्वन्धी पठनरुचिको विकास समुचित रुपमा गर्न सक्दैन ।

यसको प्रमुख कारण औसत नेपाली परिवारको निर्धनता हो । नेपालका धेरै कम परिवार समाचारपत्र किन्न सामर्थ छन् । अर्को कारण भारतीय समाचारपत्र सस्तो र धेरै प्रचलन पनि छ ।

जहाँसम्म किशोरहरूको पुस्तकपठन रुचिको प्रश्न छ, यो सहजै भन्न सकिन्छ कि किशोर कथानक पुस्तकहरू पढन विशेष गरेर मनपराउँछन् । किशोरहरूमा रोमांस, साहसिकता, शक्तिशाली चरित्रचित्रण, मनःकल्पना र सामाजिक जागरुकता प्रधान कथावस्तु भएको विशेष लोकप्रिय हुन्छ । यसकथनको पुष्टि मनोवैज्ञानिक अनुसंधानहरूले पनि गरेका छन् । फ्रेंच मनोवैज्ञानिक लेवी ब्रूल ओदेनले आफ्नो लेख (किशोरहरूको पठनरुचि) नामक निबन्धमा, जो (इन्फेन्स) नामक पत्रिकाको पाँचौ अंकमा, १९५७ ई.मा नै, प्रकाशित गराएका थिए, त्यसमा किशोरहरूको पठन रुचिहरूको विस्तृत अध्ययन सामग्रि प्रस्तुत गरेका छन् ।

यस अध्ययनपछि यो निष्कर्षमा पुगे कि सामाजिक उपन्यास किशोरहरूद्वारा सर्वाधिक मन पराइन्छ । कलाकुञ्ज पुस्तकालय गौरको रेकर्ड, साथै बर्सेनि गरिँदै आएको पुस्तक प्रदर्शनीको रेकर्डबाट पनि किशोरहरूले प्रायः कथानक पुस्तकहरू पढ्ने गरेको पुष्टि हुन आएको छ । किशोर पाठकहरूले पढ्ने गरेका पुस्तकहरूमा कथावस्तु भएको पुस्तक अग्रपङ्क्तिमा रहेको छ । 

किशोरहरूमा प्रेम र रोमान्सप्रधान, उत्तेजनाप्रधान, साहसप्रधान तथा सामाजिक विषयहरूको चित्रण गर्ने कथाहरू विषेश लोकप्रिय हुने गर्दछ । तिनीहरू यस बाहेक धार्मिक पुस्तकहरू, चाहे त्यो कथाको नै किन नहोस्, मन पराउँदैनन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ