काठमाडौँ । च्याम्पियन्स ट्रफी क्रिकेट पाकिस्तानको आयोजनामा चलिरहेको छ । तर भारतले भने पाकिस्तान जान नमान्दा दुबईको तटस्थ मैदानमा खेलिरहेको छ ।
पहिलो खेलमा भारतले बंगलादेशमाथि ६ विकेटको जित हासिल गर्यो । पहिले ब्याटिङ गरेको बंगलादेशले टविड हृदयको सय रनको मद्धतले २ बल खेल्न बाँकी छँदै अलआउट भएर २२८ रन बनायो ।
मोहम्मद शमीले ५ विकेट लिए । जवाफमा भारतले ४६.३ ओभरमा ४ विकेट गुमाएर जित हासिल गर्यो । शुबमन गिलले अविजित रहँदै १०१ रन बनाए ।
कप्तान रोहित शर्मा र लोकेश राहुलले समान ४१ रनको योगदान दिए ।
भारत रहेको समूहमा बंगलादेशसँगै पाकिस्तान र न्यूजिल्याण्ड पनि छन् । उद्घाटन खेलमा न्यूजिल्याण्डले पाकिस्तानलाई हरायो ।
अर्को समूहमा अफगानिस्तान, अष्ट्रेलिया, इङ्गल्याण्ड र दक्षिण अफ्रिका रहेका छन् ।
भारतबाट विभिन्न रेकर्ड
भारतले बंगलादेशलाई हराउँदा खेलाडीहरुले आफ्नो रेकर्ड बनाएका छन् । भारतीय टिमले पनि सन् २०२३ को फाइनलदेखि अहिलेसम्म लगातार ११ पटक एक दिवसीयमा टस हारेर नेदरल्याण्ड्सको बराबरी गरेको छ ।
नेदरल्याण्ड्सले सन् २०११ देखि अगस्त २०१३ सम्म ११ टस हारेको थियो ।
शमी च्याम्पियन्स ट्रफीमा ५ विकेट लिने दोस्रो बलर भएका छन् । यसअघि रविन्द्र जडेजाले सन् २०१३ मा वेष्ट इन्डिजविरुद्ध यो रेकर्ड राखेका थिए ।
शमीले भारतका लागि विश्वकप र च्याम्पियन्स ट्रफीमा सबैभन्दा बढी ६० विकेट लिने रेकर्ड राखे । शमीले जहिर खानको ५९ विकेटको रेकर्ड तोडे ।
रोहित शर्माले पनि कीर्तिमान बनाएका छन् । उनी सबैभन्दा बढी आईसीसीका प्रतियोगितामा खेल्ने भारतीय खेलाडी भएका छन् । उनले १७ खेल खेलेका छन् । ९ टी–२०, २ वल्ड टेष्ट च्याम्पियनशिप, ३ च्याम्पियन्स ट्रफी र ३ एक दिवसीय विश्वकपमा खेलेका छन् ।
दोस्रो स्थानमा विराट कोहली छन् । उनले १६ पटक खेलेका छन् । महेन्द्र सिंह धोनी र युवराज सिंहले १४ पटक खेलेका छन् ।
कोहलीले एक दिवसीय सबैभन्दा बढी क्याच लिने रेकर्ड पनि बनाएका छन् । उनले १५६ क्याच लिएका छन् । मोहम्मद अजहरुद्धिनले १५६ र सचिन तेन्दुलकरले १४० क्याच लिएका छन् ।
खेलको हिसाबमा शमी सबैभन्दा थोरै खेलमा २०० विकेट लिने दोस्रो खेलाडी भएका छन् । उनले १०४ खेलमा २०० विकेट पूरा गरे ।
पहिलो नम्बरमा भने अष्ट्रेलियाका मिचेल स्टार्क छन् । उनले १०२ खेलमै २०० विकेट पूरा गरेका हुन् ।
शमी सबैभन्दा कम बलमा २०० विकेट लिने खेलाडीमा एक नम्बरमा परेका छन् । उनले ५ हजार १२६ बल फ्याँदै २०० विकेट लिएका हुन् ।
दोस्रो स्थानमा मिचेल स्टार्क छन् । उनले ५ हजार २४० बल फ्याँकेका थिए ।
शमी आईसीसीको सीमित प्रतियोगितामा सबैभन्दा बढी विकेट लिने भारतीय खेलाडी भएका छन् । उनले ७४ विकेट लिएका छन् ।
जहिर खानले ७१ तथा जसप्रित बुमराहले ६८ विकेट लिएका छन् । शमीले आईसीसीका प्रतियोगितामा पाँच पटक पाँच विकेट लिए ।
सबैभन्दा कम खेलमा ११ हजार रन पूरा गर्नेमा विराट कोहली २२२ खेल रहेको छ भने रोहित शर्मा दोस्रो स्थानमा छन् । उनले २६१ खेलमा उक्त रेकर्ड बनाए ।
सचिन तेन्दुलकरले २७६ खेलमा तथा अष्ट्रेलियाका रिक्की पोन्टिङले २८६ बलमा यो रेकर्ड राखे ।
गिलको छुट्टै रेकर्ड
गिलले ५१ इनिङ्समा ८ एक दिवसीय शतक बनाएका छन् । उनी कम इनिङ्समा भारतका लागि ८ शतक लगाउने पहिलो खेलाडी हुन् ।
गिलपछि यो रेकर्ड शिखर धवनको नाममा रहेको छ । शिखरले ५७ इनिङ्समा आठ शतक हानेका थिए ।
विराटले ६८ तथा गौतम गम्भीरले ९८ खेलमा ८ शतक बनाएका थिए ।