जलविद्युत विधेयकको दफा १७ बाहेकका सबै दफाहरू समितिबाट पारित [भिडियो]
हाम्रा कुरा
प्रकाशित २०८१ फागुन ८ बिहिबार
493
Shares
काठमाडौँ । जलविद्युत विधेयकको दफा १७ बाहेकका सबै दफाहरू प्रतिनिधि सभाअन्तर्गतको पूर्वाधार विकास समितिले सर्वसम्मत पारित गरेको छ । बिहीबार सिंहदरबारमा बसेको समिति बैठकले विधेयकको दफा १७ बाहेक सबै दफाहरू पारित गरेको समिति सभापति दीपकबहादुर सिंहले बताए ।
उनले विधेयकमा भएको भाषिक त्रुटीटलाई अन्तिममा मिलाउने सहमति भएको बताए । उनले विधेयकको दफा १७ मा तल्लो तटीय र माथिल्लो तटीय क्षेत्रको बारे अझै छलफल गर्नुपर्ने भएको कारण अर्को बैठकले टुङ्गो लगाउने बताए । उनले उक्त दफासहित विधेयकमाथि गहन छलफल गरेर लामो समयसम्म कानून संशोधन गर्नु नपर्ने गरी प्रतिवेदन बुझाउने बताए ।
समिति सभापति सिंहले भने, ‘आज जलविद्युत विधेयकमा दफा १७ को बाँकी रह्यो । बाँकी सम्पूर्ण दफाहरू हामीले पास गरेका छौं । दफामा नमिलेको भाषिक शुद्धता अन्तिममा मिलाउने गरि सहमति भएको छ । दफा १७ मा तल्लो तटीय क्षेत्र र माथिल्लो तटीय क्षेत्रको बारेमा ज्यादै छलफल गर्नुपर्ने भएकोले यो विधेयक अर्को बैठकमा राखिकन गहन छलफल गरिकन जलस्रोत विधेयकलाई यो समितिले राष्ट्र हित, जनहित बनाई ६० लाख नेपाली जनताको जुन शेयर छ त्यसलाई पनि संरक्षण गरिकन विधेयकलाई लामो समयसम्म संशोधन गर्नु नपर्ने गरी सदनमा पेस गर्छौ ।’
उनले विद्युत् क्षेत्रमा रहेको ६० लाख नागरिकको शेयर संरक्षण गर्ने गरि विधेयक आउने दाबी गरे ।