दिल्लीमा रेखा सरकार, केजरीवाललाई हराएका वर्मा बने मन्त्री
हाम्रा कुरा
प्रकाशित २०८१ फागुन ८ बिहिबार
1.4k
Shares
काठमाडौँ । रेखा गुप्ता भारतको नयाँदिल्लीकी नवौँ तथा चौथी महिला मुख्यमन्त्री भएकी छिन् । उनले बिहीबार रामलीला मैदानमा मुख्यमन्त्रीको शपथ लिएकी छिन् ।
दिल्लीमा यसअघि तीन महिला मुख्यमन्त्री भएका थिए । यसअघि सुषमा स्वारज ५२ दिन, शीला दीक्षित १५ वर्ष २५ दिनर आतिशी ४ महिना १८ दिन भएकी हुन् ।
दिल्ली विधान सभा निर्वाचन परिणामको ११ दिनपछि बुधबार दिल्लीले नयाँ मुख्यमन्त्री पाएको हो ।
भारतीय जनता पार्टी (भाजपा) र एनडीएको २१ राज्यमा सरकार रहेको छ । रेखा एकमात्र महिला मुख्यमन्त्री भएकी छिन् ।
भाजपाबाट दिल्लीमा चार जना महिला विधायक भएकामा एक जना मुख्यमन्त्री भएकी हुन् । उनी दिल्ली भाजपाकी महासचिव तथा महिला मोर्चाकी उपाध्यक्षसमेत हुन् ।
उनी यसअघि दक्षिण दिल्ली नगर निगमकी मेयर भैसकेकी थिइन् । पहिलो पटक विधायक बनेकी उनले पहिलो पटकमै मुख्यमन्त्रीमा बाजी मारेकी हुन् ।
रेखा सन् १९७४ को १९ जुलाईमा हरियाणामा जन्मेकी थिइन् । उनले बीकम तथा एलएलबी पढेकी छिन् ।
५० वर्षीया रेखा यसअघिका मुख्यमन्त्री अरविन्द केजरीवालले बनाएको शीश महलमा नबस्ने निर्णय गरेकी छिन् । उनको शपथमा केजरीवाल र आतिशी गएनन् ।
शपथभन्दा अगाडि नै उनले शीश महलमा नबस्ने बताएकी थिइन् ।
रेखाको मन्त्रीमण्डलमा केजरीवाललाई हराएका भाजपाका विधायक प्रवजेश वर्मा मन्त्री भएका छन् । उनीसँग छ मन्त्रीले पनि शपथ लिएका छन् । आशिष सूद, मनजिन्दर सिंह सिरसा, रविन्द्र इन्द्राज सिंह, कपिल मिश्रा र पंकजकुमार सिंह मन्त्री भएका छन् ।
शपथ ग्रहण कार्यक्रममा प्रधानमन्त्री नरेन्द्र मोदीसहित केन्द्रका मन्त्रीहरु, भाजपाबाट निर्वाचित अन्य राज्यका मुख्यमन्त्रीहरु रहेका थिए ।
मुख्यमन्त्री तथा छ मन्त्रीले शपथ लिनसक्ने बताइएको छ । शपथ समारोहका लागि ३० हजार अतिथि सामेल हुनेसमेत सम्भावना बताइएको छ ।
समारोहमा प्रधानमन्त्री नरेन्द्र मोदी, केन्द्रीय मन्त्रीहरु, भाजपा र एनडएि शासित राज्यका मुख्यमन्त्री, उपमुख्यमन्त्री सहभागी हुनेछन् । यसका साथै उद्योगपति, चलचित्रकर्मी, क्रिकेट खेलाडी, साधुसन्त लगायत पनि सहभागी हुनेछन् ।
२७ वर्षपछि भाजपाको नेतृत्वमा सरकार
भारतको दिल्लीमा भारतीय जनता पार्टी भाजपाको सरकार बनेको छ । विधान सभाको निर्वाचनमा भाजपाले स्पष्ट बहुमतसहित सरकार बनाएको हो
७० सिटका लागि भएको मतदानमा भाजपाले स्पष्ट बहुमत पाएको हो । यसअघि लगातार तीन पटक सत्ता चलाएको आम आदमी पार्टी आजपा कम सिटमा खुम्चिएपछि भाजपाले बाजी मारेको थियो ।
भाजपाले ४८ सिट जितेको हो । दोस्रो स्थानमा खुम्चेको आजपा २२ सिटमा खुम्चेको छ ।
चुनावमा ५७.८५ प्रतिशत मत खसेको थियो । यसअघि सन् २०२० मा आपले ६२ सिट जित्दा भाजपाले ८ सिट जितेको थियो । कांग्रेस र अन्य दलहरुले कुनै पनि सिट जित्न सकेनन् ।
आपबाट पार्टी प्रमुख अरविन्द केजरीवाललेसमेत चुनाव हारे ।
यो नतिजाले प्रधानमन्त्री नरेन्द्र मोदी भए सबै सम्भव हुने प्रमाणित गरेको छ ।
लोकसभा चुनावमा इन्डिया ब्लकका साझेदार रहेका पाँच पार्टी विधान सभा निर्वाचनमा भने एक आपसमा भिडेका थिए ।
आम आदमी पार्टी (आप) र कांग्रेस सबै ७० सिटमा आपसमा भिडेका थिए । त्यस्तै कम्युनिष्ट पार्टी अफ इन्डियाले ६, कम्युनिष्ट पार्टी अफ इन्डिया मार्कसिस्ट र कम्युनिष्ट पार्टी अफ इन्डिया मार्कसिस्ट लेलिनिस्टले २–२ सिटमा आफ्ना प्रत्यासी उठाएका थिए ।
भारतीय जनता पार्टी (भाजपा) ले ६८ सिटमा आफ्ना उम्मेदवार उठाएको थियो । दुई सिट सहयोगी पार्टीलाई दिएको थियो । जसमा जनता दल युनाइटेड (जेडीयू) र लोक जनशक्ति पार्टी–रामविलास (एजेपी–आर) ले एक एक सिट पाएका थिए ।
महाराष्ट्रमा भाजपाको सहयोगी राष्ट्रवादी कांग्रेस पार्टी (एनसीपी) ले ३० सिटमा चुनाव लडेको थियो । शिवसेना प्रमुख तथा महाराष्ट्रका उपमुुख्यमन्त्री एकनाथ सिन्देले सबै सिटमा भाजपालाई समर्थन गरेको थियो ।
त्यस्तै बहुजन समाज पार्टी (बीएसपी) ७०, असरुद्धीन ओवेसीको अल इन्डिया मजलिस–ए–इत्तिहादुल मुस्लिमिनले १२ सिटमा चुनाव लडेको थियो ।
यसअघिको निर्वाचनमा आपले बाजी मारेको भए पनि यसपालि भने आपको राजनीति बिग्रिएको हो ।