arrow

रेखा गुप्ता दिल्लीकी मुख्यमन्त्री, बिहीबार शपथ, चौथो महिला

logo
हाम्रा कुरा
प्रकाशित २०८१ फागुन ७ बुधबार
rekha-gupta-cm-delhi.jpg

काठमाडौँ । भारतको नयाँदिल्लीले विधान सभा निर्वाचन परिणामको ११ दिनपछि नयाँ मुख्यमन्त्री पाएको छ । 

बुधबार राति विधायक दलको बैठक बसेर मुख्यमन्त्रीको नाम सार्वजनिक गरिएको  भारतीय जनता पार्टी (भाजपा) ले जनाएको छ । 

मुख्यमन्त्री रेखा गुप्ता बन्ने भएकी छिन् । भाजपा र एनडीएको २१ राज्यमा सरकार रहेको छ । रेखा एकमात्र महिला मुख्यमन्त्री हुनेछिन् । 

भाजपाबाट दिल्लीमा चार जना महिला विधायक भएकामा एक जना मुख्यमन्त्री बन्ने भएकी हुन् । उनी दिल्ली भाजपाकी महासचिव तथा महिला मोर्चाकी उपाध्यक्षसमेत हुन् । 

उनी यसअघि दक्षिण दिल्ली नगर निगमकी मेयर भैसकेकी थिइन् । पहिलो पटक विधायक बनेकी उनले पहिलो पटकमै मुख्यमन्त्रीमा बाजी मारेकी हुन् । 

दिल्लीमा यसअघि तीन महिला मुख्यमन्त्री भएका छन् । यसअघि सुषमा स्वारज ५२ दिन, शीला दीक्षित १५ वर्ष २५ दिनर आतिशी ४ महिना १८ दिन भएकी हुन् । 

शपथ ग्रहण कार्यक्रम भने बिहीबार दिउँसो १२ः३५ बजे हुने भएको छ । बिहीबारको शपथका लागि ३० हजार अतिथि सामेल हुनेसमेत सम्भावना बताइएको छ । 

दिल्लीको रामलीला मैदानमा शपथको तयारी भइरहेको छ । समारोहमा प्रधानमन्त्री नरेन्द्र मोदी, केन्द्रीय मन्त्रीहरु, भाजपा र एनडएि शासित राज्यका मुख्यमन्त्री, उपमुख्यमन्त्री सहभागी हुनेछन् । यसका साथै उद्योगपति, चलचित्रकर्मी, क्रिकेट खेलाडी, साधुसन्त लगायत पनि सहभागी हुनेछन् । 

२७ वर्षपछि भाजपाको नेतृत्वमा सरकार
भारतको दिल्लीमा भारतीय जनता पार्टी भाजपाको सरकार बन्दैछ । विधान सभाको निर्वाचनमा भाजपाले स्पष्ट बहुमतसहित सरकार बनाउने भएको हो । 

७० सिटका लागि भएको मतदानमा भाजपाले स्पष्ट बहुमत पाएको हो । यसअघि लगातार तीन पटक सत्ता चलाएको आम आदमी पार्टी आजपा कम सिटमा खुम्चिएपछि भाजपाले बाजी मारेको हो । 

भाजपाले ४८ सिट जितेको हो । दोस्रो स्थानमा खुम्चेको आजपा २२ सिटमा खुम्चेको छ । 

चुनावमा ५७.८५ प्रतिशत मत खसेको थियो । यसअघि सन् २०२० मा आपले ६२ सिट जित्दा भाजपाले ८ सिट जितेको थियो । कांग्रेस र अन्य दलहरुले कुनै पनि सिट जित्न सकेनन् । 

आपबाट पार्टी प्रमुख अरविन्द केजरीवाललेसमेत चुनाव हारे । 

यो नतिजाले प्रधानमन्त्री नरेन्द्र मोदी भए सबै सम्भव हुने प्रमाणित गरेको छ । 

लोकसभा चुनावमा इन्डिया ब्लकका साझेदार रहेका पाँच पार्टी विधान सभा निर्वाचनमा भने एक आपसमा भिडेका थिए । 

आम आदमी पार्टी (आप) र कांग्रेस सबै ७० सिटमा आपसमा भिडेका थिए । त्यस्तै कम्युनिष्ट पार्टी अफ इन्डियाले ६, कम्युनिष्ट पार्टी अफ इन्डिया मार्कसिस्ट र कम्युनिष्ट पार्टी अफ इन्डिया मार्कसिस्ट लेलिनिस्टले २–२ सिटमा आफ्ना प्रत्यासी उठाएका थिए । 

भारतीय जनता पार्टी (भाजपा) ले ६८ सिटमा आफ्ना उम्मेदवार उठाएको थियो । दुई सिट सहयोगी पार्टीलाई दिएको थियो । जसमा जनता दल युनाइटेड (जेडीयू) र लोक जनशक्ति पार्टी–रामविलास (एजेपी–आर) ले एक एक सिट पाएका थिए । 

महाराष्ट्रमा भाजपाको सहयोगी राष्ट्रवादी कांग्रेस पार्टी (एनसीपी) ले ३० सिटमा चुनाव लडेको थियो । शिवसेना प्रमुख तथा महाराष्ट्रका उपमुुख्यमन्त्री एकनाथ सिन्देले सबै सिटमा भाजपालाई समर्थन गरेको थियो । 

त्यस्तै बहुजन समाज पार्टी (बीएसपी) ७०, असरुद्धीन ओवेसीको अल इन्डिया मजलिस–ए–इत्तिहादुल मुस्लिमिनले १२ सिटमा चुनाव लडेको थियो । 

यसअघिको निर्वाचनमा आपले बाजी मारेको भए पनि यसपालि भने आपको राजनीति बिग्रिएको हो ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ