मतपरिणामको ११ दिनपछि दिल्लीले मुख्यमन्त्री पाउँदै, बिहीबार शपथ, ३० हजारलाई निम्तो
हाम्रा कुरा
प्रकाशित २०८१ फागुन ७ बुधबार
1.8k
Shares
तस्बिर – फाइल ।
काठमाडौँ । भारतको नयाँदिल्लीले विधान सभा निर्वाचन परिणामको ११ दिनपछि नयाँ मुख्यमन्त्री पाउने भएको छ ।
बुधबार बेलुकी विधायक दलको बैठक बसेर मुख्यमन्त्रीको नाम सार्वजनिक गरिने भारतीय जनता पार्टी (भाजपा) ले जनाएको छ । मुख्यमन्त्री र दुई उपमुख्यमन्त्री सार्वजनिक गर्न सकिने जनाइएको छ ।
यसका लागि बेलुकी प्रदेश कार्यालयमा विधायक दलको बैठक बस्नेछ । पार्टी अध्यक्ष जेपी नड्डाले निर्वाचित विधायक मध्येबाटै मुख्यमन्त्री बनाइने घोषणा गरिसकेका छन् ।
बैठकमा सरकारमा जाने मन्त्रीको नाम पनि घोषणा हुने सम्भावना रहेको छ । शपथ ग्रहण कार्यक्रम भने बिहीबार दिउँसो १२ः३५ बजे हुने भएको छ । भारतीय सञ्चारमाध्यमहरुका अनुसार भाजपा दलित, पूर्वान्चल र जाटको मिश्रण बन्न सक्नेछ ।
मुख्यमन्त्रीसहित सात मन्त्रीले शपथ लिनसक्ने आँकलन भइरहेको छ । बिहीबारको शपथका लागि ३० हजार अतिथि सामेल हुनेसमेत सम्भावना बताइएको छ ।
बेलुकीको घोषणा बैठकअघि दिउँसो भाजपा संसदीय दलको बैठक बसेको छ । त्यस्तै दिल्ली सरकारको बैठक पनि बसेको छ ।
दिल्लीको रामलीला मैदानमा शपथको तयारी भइरहेको छ । समारोहमा प्रधानमन्त्री नरेन्द्र मोदी, केन्द्रीय मन्त्रीहरु, भाजपा र एनडएि शासित राज्यका मुख्यमन्त्री, उपमुख्यमन्त्री सहभागी हुनेछन् । यसका साथै उद्योगपति, चलचित्रकर्मी, क्रिकेट खेलाडी, साधुसन्त लगायत पनि सहभागी हुनेछन् ।
को होला मुख्यमन्त्री ?
मिडिया रिपोर्टका अनुसार मुख्यमन्त्रीको दौडमा आधादर्जन आकांक्षी छन् । शुरुआतमा पार्टीले १५ विधायकको नाम लिएकामा ९ नाम शर्ट लिष्ट गरिएको छ । जसमा मुख्यमन्त्री, मन्त्री तथा सभामुखसमेत तय गरिने छ ।
दिल्लीमा मुख्यमन्त्रीसमेत गरी सात मन्त्री बन्नेछन् । मुख्यमन्त्रीका आधा दर्जन आकांक्षीमा कुनै आपराधिक घटनामा संलग्न नभएका ५० वर्षीय स्नातक रविन्द्र इन्द्रराज सिंह, आपराधिक घटनामा नमुछिएकी ६० वर्षीया स्नातक शिखा राय र एउटा आपराधिक घटनामा मुछिएका पूर्व मुख्यमन्त्री अरविन्द केजरीवाललाई हराएका ४७ वर्षीय स्नातकोत्तर प्रवेश वर्मा रहेका छन् ।
त्यस्तै चार आपराधिक घटनामा मुछिएका ६१ वर्षीय स्नातकोत्तर विजेन्द्र गुप्ता, एउटा आपराधिक घटनामा मुछिएका १२ पास ५९ वर्षीय राजकुमार भाटिया र तीन आपराधिक घटनामा मुछिएका ५५ वर्षीय स्नातक जितेन्द्र महाजन रहेका छन् ।
२७ वर्षपछि भाजपाको नेतृत्वमा सरकार
भारतको दिल्लीमा भारतीय जनता पार्टी भाजपाको सरकार बन्दैछ । विधान सभाको निर्वाचनमा भाजपाले स्पष्ट बहुमतसहित सरकार बनाउने भएको हो ।
७० सिटका लागि भएको मतदानमा भाजपाले स्पष्ट बहुमत पाएको हो । यसअघि लगातार तीन पटक सत्ता चलाएको आम आदमी पार्टी आजपा कम सिटमा खुम्चिएपछि भाजपाले बाजी मारेको हो ।
भाजपाले ४८ सिट जितेको हो । दोस्रो स्थानमा खुम्चेको आजपा २२ सिटमा खुम्चेको छ ।
चुनावमा ५७.८५ प्रतिशत मत खसेको थियो । यसअघि सन् २०२० मा आपले ६२ सिट जित्दा भाजपाले ८ सिट जितेको थियो । कांग्रेस र अन्य दलहरुले कुनै पनि सिट जित्न सकेनन् ।
आपबाट पार्टी प्रमुख अरविन्द केजरीवाललेसमेत चुनाव हारे ।
यो नतिजाले प्रधानमन्त्री नरेन्द्र मोदी भए सबै सम्भव हुने प्रमाणित गरेको छ ।
लोकसभा चुनावमा इन्डिया ब्लकका साझेदार रहेका पाँच पार्टी विधान सभा निर्वाचनमा भने एक आपसमा भिडेका थिए ।
आम आदमी पार्टी (आप) र कांग्रेस सबै ७० सिटमा आपसमा भिडेका थिए । त्यस्तै कम्युनिष्ट पार्टी अफ इन्डियाले ६, कम्युनिष्ट पार्टी अफ इन्डिया मार्कसिस्ट र कम्युनिष्ट पार्टी अफ इन्डिया मार्कसिस्ट लेलिनिस्टले २–२ सिटमा आफ्ना प्रत्यासी उठाएका थिए ।
भारतीय जनता पार्टी (भाजपा) ले ६८ सिटमा आफ्ना उम्मेदवार उठाएको थियो । दुई सिट सहयोगी पार्टीलाई दिएको थियो । जसमा जनता दल युनाइटेड (जेडीयू) र लोक जनशक्ति पार्टी–रामविलास (एजेपी–आर) ले एक एक सिट पाएका थिए ।
महाराष्ट्रमा भाजपाको सहयोगी राष्ट्रवादी कांग्रेस पार्टी (एनसीपी) ले ३० सिटमा चुनाव लडेको थियो । शिवसेना प्रमुख तथा महाराष्ट्रका उपमुुख्यमन्त्री एकनाथ सिन्देले सबै सिटमा भाजपालाई समर्थन गरेको थियो ।
त्यस्तै बहुजन समाज पार्टी (बीएसपी) ७०, असरुद्धीन ओवेसीको अल इन्डिया मजलिस–ए–इत्तिहादुल मुस्लिमिनले १२ सिटमा चुनाव लडेको थियो ।
यसअघिको निर्वाचनमा आपले बाजी मारेको भए पनि यसपालि भने आपको राजनीति बिग्रिएको हो ।
दिल्लीमा क–कसको राज ?
कांग्रेसले लामो समय दिल्लीको राजनीतिमा हालीमुहाली गर्यो । त्यसपछि भाजपा आयो र भाजपा पनि २७ वर्षसम्म सत्तामा रहन सकेन । त्यसपछि कांग्रेस सन् १९९८ देखि १५ वर्ष सत्तामा रह्यो । ११ वर्षदेखि अप्रत्याशित रुपले उदाएको आम आदमी पार्टी (आप) ले पकड जमायो ।
आप आउँदा भाजपा र कांग्रेस दुवै दलले आफूलाई निरीह ठाने । सबैभन्दा बढी समय राज गरेको कांग्रेस पत्तासाफ नै भएको छ भने भाजपा निकटतम प्रतिद्वन्द्वी रहिरह्यो ।
७० सिट रहेको दिल्ली विधान सभामा चार कार्यकालको मतको आँकलन गर्ने हो भने सन् २०१३ को चुनावमा मत प्रतिशत प्रतिस्पर्धात्मक थियो । भारतीय निर्वाचन आयोगका अनुसार सन् २०१३ मा भाजपाले ३१ सिट जित्दा भोट प्रतिशत ३३.०७ रहेको थियो । पहिलो पटक राजनीतिमा पदार्पण गरेको आपले २८ सिट जित्ने क्रममा २९.४९ प्रतिशत मत ल्यायो ।
कांग्रेस भने १५ वर्ष निरन्तर सत्तामा रहेको अवस्थामा ८ सिटमा खुम्चियो भोट २४.५५ प्रतिशत ल्यायो । त्यसपछिका तीन चुनावको आँकडा हेर्ने हो भने कांग्रेस क्लिन स्वीप भएको छ । आपले दुई कार्यकाल चमत्कार गर्दा अन्तिम कार्यकाल निकै खस्केको छ भने भाजपाले सन् १९९३ कै अवस्थालाई दोहोर्याएको छ ।
आँकडामा हेर्दा सन् २०१५ मा भाजपाले जम्मा ३ सिट जित्यो । मत प्रतिशत भने ३२.१९ रहेको थियो । आपले कमाल गर्यो । ६७ सिट जित्ने क्रममा ५४.३४ प्रतिशत मत जित्यो । कांग्रेस ९.६५ प्रतिशत मतमा झर्यो । दिल्लीका मतदाताले कांग्रेसलाई बढारे । कुनै पनि सिट कांग्रेसले जितेन ।
सन् २०२० मा भाजपाले सिटमा केही सुधार गर्यो र भोट प्रतिशत पनि बढायो । भाजपाले ८ सिट जित्दा भोट प्रतिशत ३८.५१ रह्यो । आपले पाँच सिट गुमाएर ६२ मा झर्दा मत प्रतिशत पनि घटेर ५३.५७ पुग्यो । कांग्रेसले इतिहासकै सबैभन्दा कम ४.२६ प्रतिशत पायो ।
सन् २०२५ मा भाजपाले कमाल गर्यो । ‘मोदी भए सबै सम्भव छ’ भन्ने भाजपाको नारा सही सावित भयो । केन्द्रको राजनीतिमा प्रधानमन्त्री मोदीको भाजपाले गत निर्वाचनको तुलनामा कम सिट जितेको भए पनि दिल्लीमा सन् १९९३ कै स्थितिमा कब्जा जमाउँदा भने मोदीले असम्भवलाई सम्भव बनाउँछन् भन्ने प्रमाणित नै भएको छ । भाजपाले सन् १९९३ मा ४९ सिट जितेको थियो ।
अहिले भाजपाले दुई तिहाई सिट जित्यो । ४७.१७ प्रतिशत मत पायो । आप ४० सिट गुमाएर २२ सिटमा झर्न बाध्य भयो । ४३.५७ प्रतिशत भोट ल्याए पनि सिट बढेन । कांग्रेस ६.३४ प्रतिशत मत ल्याए पनि एक सिटसमेत जित्न सकेन । लगातार तेस्रो पटक कांग्रेसको सिट संख्या ‘शून्य’ रह्यो । आप नराम्ररी पराजित हुने क्रममा आपका प्रमुख एवं तीन पटकका मुख्यमन्त्री अरविन्द केजरीवालसमेत पराजित भए ।
कांग्रेस आफू ‘जिरो’ भए पनि आपलाईसमेत खाल्डोमा जाक्न सफल भएको छ । कांग्रेसले आपलाई १४ सिटमा हरायो । किनकि १४ सिटमा आपले हारेको मतान्तर भन्दा कांग्रेस उम्मेदवारले ल्याएको मत बढी थियो । यदि आप र कांग्रेसबीच गठबन्धन भएको भए सम्भवत गठबन्धनले बहुमत ल्याउन पनि सक्ने थियो ।