भद्रपुर झापा गोल्डकप आजदेखि, चार देशका १० टिम सहभागी
युवराज रेग्मी,
प्रकाशित २०८१ फागुन ७ बुधबार
990
Shares
झापा । सौर्य एअरलाइन्स ओम साई पाथीभरा हस्पिटल भद्रपुर झापा गोल्डकप गम्भीर राई स्मृति संस्करण अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिता आजदेखि शुरु हुँदैछ ।
उद्घाटन खेलमा आयोजक भद्रपुर ब्लेजर र भारतको दार्जीलिङ पुलिस भिड्दै छन् । यसअघि आयोजकले पत्रकार सम्मेलन गरी सम्पूर्ण तयारी पूरा भएको जनाएको थियो ।
गोल्डकपलाई उत्कृष्ट, भव्य र परिष्कृत बनाउन आकर्षक मैदान बनाइएको छ । खेल मैदान वरपर लगभग २० हजार दर्शकले सहजै बसेर फुटबल हेर्न मिल्नेगरी स्थायी पक्की तथा बाँसको अस्थायी पारापिट निर्माण गरिनुका साथै प्रतियागिताको तयारी स्वरुप विभिन्न स्थानहरुमा स्वागत गेटहरु निर्माण गरिएको छ ।
यो संस्करणको भद्रपुर झापा गोल्डकपमा घरेलु टोली भद्रपुर ब्लेजर्स सहित ‘ए’ डिभिजन क्लब चर्च ब्वाइज युनाइटेड, मछिन्द्र फुटबल क्लब, नेपाल पुलिस क्लब, न्यु रोड टिम, सशस्त्र प्रहरीको एपिएफ एफसी र झापा ११ एफसी सहभागी हुनेछन् ।
गोल्डकपमा तीन विदेशी टिम दार्जिलिङ पुलिस एफसी भारत, ट्रान्सपोर्ट युनाइटेड एफसी भुटान, काउर्न बाजार प्रगति संघ बंगलादेशसहित गरL जम्मा ४ देशका १० टिमबीच प्रतिस्पर्धा हुनेछ ।
फागुन १६ गते हुने गोल्डकपको फाइनलको विजेताले नगद १३ लाख , आकर्षक ट्रफी र मेडल तथा उपविजेताले नगद ७ लाख, ट्रफी र मेडल प्राप्त गर्नेछ ।
गोल्डकप सम्पन्न गर्न एक करोड ७८ लाख रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको आयोजकले जनाएको छ ।
प्रतियोगिता भरिको सर्वोत्कृष्ट खेलाडी प्लेयर अफ द टुर्नामेन्टले नगद एक लाख पाँच हजार रुपैयाँ पाउनेछ ।
त्यस्तै, उत्कृष्ट गोलकिपर, उच्च गोलकर्ता, उदीयमान खेलाडी र प्रशिक्षकले नगद २५ हजार पाउनेछ । प्रत्येक खेलको प्लेयर अफ द म्याचलाई नगद २१ हजार रुपैयाँ दिइनेछ ।
प्रतियोगिताको उद्घाटन पूर्वउपप्रधान तथा गृहमन्त्री एवं हालका राष्ट्रिय सभाका सदस्य कृष्णप्रसाद सिटौलाले गर्ने गोल्डकपका अध्यक्ष दिपेश ढकालले जानकारी दिए ।