देशभर २० हजार भन्दा बढी अनुचित लेनदेनका उजुरी [भिडियो]
सहकारी ठगीका ४८ मुद्धा दर्ता, पाँच अर्ब भन्दा बढीको बिगो रकम माग दाबी, ४३ पक्राउ, ३५० फरार
हाम्रा कुरा
प्रकाशित २०८१ फागुन ५ सोमबार
591
Shares
काठमाडौँ । देशभर २० हजार भन्दा बढी अनुचित लेनदेनका उजुरी रहेको गृह मन्त्रालयले जनाएको छ । सोमबार मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै मन्त्रालयका प्रवक्ता एवं सहसचिव रामचन्द्र तिवारीले २० हजार भन्दा बढी अनुचित लेनदेनका उजुरीहरू अहिले पनि रहेको बताए ।
उनले उजुरीहरूलाई फर्स्यौट गर्ने कुरामा मन्त्रालयले तीव्रताका साथ कम गरिरहेको बताए । त्यस्तै सहकारी ठगीका मुद्दा आ.व.०८१-०८२ को माघ २४ गतेसम्म ४८ वटा दर्ता भएको बताए । उनले ४३ जना पक्राउ पर्नुका साथै ५ अर्ब भन्दा बढीको बिगो रकम माग दाबी गरिएको बताए । सहकारी सम्बन्धी मुद्दामा ३५० जना मानिस फरार रहेको बताए । मन्त्रालयले बेरुजु फर्स्यौटलाई शून्य बनाउन काम गरिरहेको बताए ।
उनले भने, ‘बेरुजु फर्स्यौटलाई अहिले मान्य मन्त्रीज्यूले बेरुजु लामो समय राख्नुहुन्न भन्ने निर्देशन छ । त्यही निर्देशनअनुसार काम साथीहरूले गरिरहनुभएको छ । अहिलेसम्म ५० प्रतिशत यो वर्ष बेरुजु फर्स्यौट भएको छ । यसलाई अब जिरो बनाउने भन्ने छ । अहिले पनि हामीसँग २० हजार भन्दा बढी अनुचित लेनदेनका उजुरीहरू छन् । यी उजुरीहरूलाई सर्टिङ गर्नेकुरालाई तीव्रता दिने भनेर अहिले मान्य मन्त्रीज्यू, श्रीमान् सचिवज्यू र प्रहरी महानिरीक्षकज्युहरु लागिरहनुभएको छ । ०७९-०८० मा ११ अर्ब बिगो दाबी गरेर ९३ वटा मुद्दा विभिन्न जिल्लामा सहकारी ठगीका छन् । २०८ जना पक्राउ परेका थिए भने ५५३ जना फरार थिए । ०८०-८१ मा पनि १०१ मुद्दा दर्ता भएका छन् । २९४ जना मानिस पक्राउ परेका छन् । ८७० भन्दा बढीप्रति अभियोजना गरिएको छ । ११ अर्ब ६८ करोड भन्दा बढी रकम माग दाबी गरिएको छ । ०८१-०८२ को माघ २४ गतेसम्म ४८ वटा मुद्दा दर्ता भएका छन् । ४३ जना पक्राउ परेका छन् । ३५० जना मानिस फरार छन् । ५ अर्ब भन्दा बढीको बिगो रकम माग दाबी गरिएको छ ।’