सुर्खेतका अभिषेक सुनार बने नेपालका नम्बर एक ‘टाटा गुरु’
हाम्रा कुरा
प्रकाशित २०८१ फागुन ५ सोमबार
771
Shares
काठमाडौँ। टाटा मोटर्स र सिप्रदी अटोपाट्र्स प्रालिको संयुक्त आयोजनामा सञ्चालित ‘गुरु क्षेत्र–२, २०२५’ प्रतिस्पर्धामा सुर्खेतका अभिषेक सुनार नेपालकै नम्बर एक टाटा गुरु घोषित भएका छन्। काठमाडौँस्थित होटेल क्राउन इम्पेरियरमा २०८१ फाल्गुन १ गते आयोजित यस प्रतियोगितामा देशभरका १०० जना टाटा गुरुहरूले प्राविधिक सिप, दक्षता र ज्ञानको परीक्षा दिएका थिए।
सिप्रदीका अनुसार, नम्बर एक टाटा गुरु विजेता घोषित अभिषेकसँगै द्वितीय स्थान प्राप्त गर्न सफल टाटा गुरु लाल बहादुर नेगी र तृतीय स्थान हासिल गर्न सफल गुरु ब्रह्मानन्द चौधरी र सञ्जय दनुवारले अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा सहभागी भई नेपाललाई विश्व सामू चिनाउने सुअवसर प्राप्त गरेका छन् ।
यसै गरी, प्रथम आठ स्थानमा पर्न सफल भएका टाटा गुरु अनिल श्रेष्ठ, अमन कुमार मानन्धर, धर्म श्रेष्ठ र भूमिरान खात्रीसमेतले टाटा मोटर्सको प्लान्टस्मा गई तालिम प्राप्त गर्ने सीप बढोत्तरीको अवसर पाएका हुन्।
विजेताहरूलाई रोयल इनफिल्ड मोटरसाइकल, पल्सर १५०, एफजेट स्कूटर, टिभी, फ्रिज, मोबाइल, वासिङ मेसिन लगायतका उपयोगी सामग्री प्रदान गरियो। साथै, अग्रणी विजेताहरूले टाटा मोटर्सको भारतीय प्लान्टमा प्रशिक्षण र अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा नेपालको प्रतिनिधित्व गर्ने मौका पाएका छन्।
सिप्रदी अटोपाट्र्सका वरिष्ठ महाप्रबन्धक युवराज बुढाथोकीले भने, “हामीले गुरुहरूको सामाजिक-आर्थिक उन्नतिका लागि ७ करोड रुपैयाँ लगानी गरिसकेका छौँ। यसैअन्तर्गत उनीहरूले वर्कशप व्यवस्थापनका लागि उपकरण र घरायसी उपकरण पनि पाएका छन्।” उनले टाटा गुरुहरूलाई “गाडीका डाक्टर” को उपमा दिँदै नक्कली पार्ट्स प्रयोग नगर्न पनि जोड दिए।
सिप्रदी ग्रुपका प्रमुख कार्यकारी राजन बाबु श्रेष्ठले योजनाको सफलतामा गुरुहरूको योगदानलाई सलाम गर्दै भने, “नेपालमा टाटालाई नम्बर १ बनाउन तपाईँहरूको सिप नै आधार हो। हामी यसलाई अझ बढाउन सघाउँदै छौँ।”
टाटा मोटर्सका प्रतिनिधि राकेश मित्तलले प्राविधिक अद्यावधिकताको महत्त्व रेख्याउँदै भने, “सिप अपडेट नगरेमा पछि पर्नेछ। हामी सबैलाई साथ लिएर अगाडि बढ्न चाहन्छौँ।”
यस कार्यक्रममा मिस नेपाल अर्थ–२०२२ विजेता डा. सृसा श्रेष्ठको सञ्चालन र सिप्रदी तथा टाटा मोटर्सका उच्चपदस्थ अधिकारीहरूको उपस्थिति रहेको थियो। सिप्रदीले ग्राहक सन्तुष्टिको लागि टाटा गुरुहरूको भूमिका अहम् रहेको पनि जनाएको छ।