नेपाल र कीर्गिस्तान भिड्दै, उद्घाटनमा म्यानमारको जित [फोटोफिचर]
साम्बा शुरुआतमा बेञ्चमा, आवश्यक परे मैदानमा, रेखा पौडेलले शुरुआतदेखि नै खेल्ने
हाम्रा कुरा
प्रकाशित २०८१ फागुन ५ सोमबार
509
Shares
काठमाडौँ । अन्तर्राष्ट्रिय महिला च्याम्पियनशिप फुटबल प्रतियोगिता सोमबारदेखि दशरथ रंगशालामा शुरु भएको छ । उद्घाटन खेलमा म्यानमार विजयी भएको छ । म्यानमारले लेबनानलाई ३–१ ले पराजित गरेको हो ।
पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ५६औं मिनेटमा म्यानमारले शुरुआती अग्रता लियो। थिन थइनगितुनले गोलले पेनाल्टी बक्सबाट प्रहार गरेको बलले सिधै जाली चुमेको थियो ।
६०औँ मिनेटमा लेबनान पनि खेलमा फर्कियो। मध्यभागबाट लयला इस्कान्डरले एक्लै बल बढाउँदै गोल गरिन्।
७२औँ मिनेटमा म्यानमारले पुनः अग्रता लियो। स्वेय यी तुनले हेडरमार्फत बललाई जाली चुमाइन् । त्यसको तीन मिनेटपछि म्याट नोए बिनाले अर्को गोल गर्दै टिमलाई जिताइन् ।
योसँगै म्यानमारले महत्वपूर्ण तीन अंक बटुलेको छ ।
आजको दोस्रो खेल
आजको दोस्रो खेलमा नेपालले कीर्गिस्तानसँग खेल्दैछ । यो खेल साँझ ५ः३० बजेवाट शुरू हुनेछ । नेपाल कीर्गिस्तानभन्दा बलियो टिम हो ।
कीर्गिस्तानसँग नेपालले अहिलेसम्म एक खेल खेलेको छ । सन् २०१९ कीर्गिस्तानमै भएको नादेज्दा कपमा नेपाल ८–२ को फराकिलो अन्तरले विजयी भएको थियो ।
आजको खेलमा साबित्रा भण्डारी साम्बाले खेल्ने नखेल्ने टुंगो छैन । खेलको स्थिति हेरेर उनी मैदानमा छिर्ने छिन् । उनी फ्रान्सबाट आजमात्रै फर्केकी हुन् । तसर्थ प्रारम्भमा बेन्चमै हुनेछिन् ।
यता नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी फरवार्ड रेखा पौडेलले भने खेल्नेछिन् । व्यवसायीक फुटबल खेल्न यूएई पुगेकी रेखा एयर अरेबियाको फ्लाइटबाट शनिबार दिउँसो काठमाडौं आइपुगेकी हुन्। उनी आवुधावी काउन्ट्री खेलिरहेकी थिइन्।
उनले नेपाललाई छैटौंपल्ट साफ च्याम्पियनशिपको फाइनलमा पुर्याउन सात गोल गरेकी थिइन्। तर विवादित रेफ्रीले दोहोरो पहेँलो कार्ड दिएपछि फाइनल खेल गुमाएकी थिइन् ।