झापा । झापाको अर्जुनधारा–३ स्थित खुदुनाबारीमा आयोजित स्व लिम्बुनी ठूली स्मृति कप फुटबल २०८१ को उपाधि पथरी ११ एफसीले हात पारेको छ ।
स्थानीय कैदले प्राकृतिक रंगशालामा आइतबार भएको फाइनलमा जलथल एफसी झापालाई पराजित गर्दै पथरी ११ ले उपाधि जितेको हो ।
निर्धारित समयमा दुवै टिमबाट गोल हुन नसकेपछि खेल सडनडेथमा धकेलिएको थियो । सडनडेथमा पथरी ११ ले ५–४ गोल अन्तरले पराजित गर्दै उपाधि चुमेको हो ।
उपाधिसँगै पथरी एफसीले १ लाख ५५ हजार ५ सय ५५ रुपैंया,ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । उपविजेता जलथलले ७७ हजार ७ सय ७७ रुपैँया मेडल र प्रमाणपत्रमा चित्त बुझायो ।
प्रतियोगितामा पथरी ११ का गोलरक्षक समिर क्षेत्री प्लेयर अफ दी म्याच घोषित भए । उनले नगद ३ हजार ५ सय रुपैंया पाए । जलथलका रोशन धिमालले उच्चस्कोररको उपाधि हुँदै मेडल र ट्रफीबाट पुरस्कृत भएका छन् ।
यसैगरी उत्कृष्ट प्रशिक्षक पथरीका सुमन विक, उत्कृष्ट मिडफिल्डर आशिष लावती बन्दा डिफेन्डर धिरेन विष्ट घोषित भए । उत्कृष्ट गोलकिपर जलथलका देवन भुजेल भएका छन् भने उत्कृष्ट खेलाडी जलथलका अशिमजंग कार्की घोषित भए ।
प्रतियोगिताको उदीयमान खेलाडिको उपाधि आयोजक च्यारिटी युथ क्लबका निशान बस्नेत, राजेश दाहाललाई प्रदान गरियो । प्रतियोगिताका विजेता तथा उपविजेता टिमलाई कोशी प्रदेश सामाजिक विकास मन्त्री पाँचकर्ण राईले पुरस्कृत गरेका छन् ।
स्थानीय च्यारिटी युथ क्लबको आयोजनामा तथा अमेरिका रोचेष्टर, न्युयोर्क सहर निवासी खेलाडी एवम् खेल प्रशिक्षक बावी सुब्बाको प्रायोजन र स्थानीय समाजसेवी गणेश दुलालको संयोजनमा खेल माघ २७ गतेबाट शुरु भएको प्रतियोगितामा कोशी प्रदेशका विभिन्न जिल्लाका ७ टिम सहभागी थिए ।
दुई दशकसम्म भुटानी शरणार्थी साविक खुदुनाबारी गाविस कैदले क्षेत्रमा बसोबास गर्दै आएको थिए । शरणार्थी तेश्रो मुलुक पुनर्वासको क्रममा लिम्बुनी ठूलीको नामले चिर परिचित आइतमाया सुब्बा सुहाङको गत वर्ष मात्र अमेरिकामा नै निधन भएको थियो । उनको छोरा बावी सुब्बाले स्व आमाको सम्झनामा कपको लागि प्रायोजन गरेका हुन् ।