विकल्प प्रयोग गरेर भए पनि अध्यादेश पारित गर्छौँ - शंकर पोखरेल [भिडियो]
हाम्रा कुरा
प्रकाशित २०८१ फागुन २ शुक्रबार
561
Shares
काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले सरकारले ल्याएको अध्यादेशको विरोध गरेर पारित हुनबाट नरोकिने बताएका छन्। उनले सरकारले ल्याएको अध्यादेश देशको अर्थतन्त्र चलायमान बनाउने र उद्योग क्षेत्रलाई प्रवर्द्धन गर्ने हिसाबले ल्याएको बताए ।
उनले अध्यादेशको विरोध भयो भनेर कोसिस असफल नहुने बताए । उनले दुई प्रमुख राजनीतिक दलहरूले सचेततापूर्वक अध्यादेश ल्याएको उल्लेख गर्दै पारित गर्ने अनेक विकल्पहरू रहेको बताए । विकल्प प्रयोग गरेर भए पनि अध्यादेशलाई राज्यको कानूनमा ढाल्ने बताए । अध्यादेश आफैँमा कानून भएको बताए । कार्यान्वयनका लागि नियमावली नरहेको कुरा आएको भन्दै नियम बनाएर गर्ने भन्ने चिजका लागि मात्रै नियमावली आवश्यक हुने बताए ।
महासचिव पोखरेलले भने, ‘अहिले सरकारले जुन हिसाबले अध्यादेशका माध्यमबाट यो क्षेत्रलाई सम्बोधन गर्ने कोसिस गरेको छ । अब अध्यादेशको विरोध भयो भन्ने बित्तिकै त्यो कोसिस असफल हुन्छ भन्ने नठान्नुहोला । किनकि त्यो कोसिस प्रमुख पार्टीहरूले सचेततापूर्वक ल्याएको काम हो । त्यस अर्थमा हामी त्यसलाई जसरी पनि टुंग्याउँछौँ । कसैले विरोध ग¥यो भनेर त्यो विरोधले रोकिने वाला छैन । अनेक विकल्पहरू छन् । विकल्प प्रयोग गरेर भए पनि हामी त्यसलाई राज्यको कानूनमा ढालिहाल्छौँ । यद्यपि अध्यादेश आफैँमा कानून हो । प्रयोगमा आइसकेको छ । अब नियमावली बनेको छैन भन्ने खालको कुरा पनि हामीले त नियमावली आवश्यक पर्ने चिज बनाइहालौँ भनेको छौँ । सायद बनाइसकेको होला जस्तो लाग्छ । आवश्यक नपर्नेका लागि कानून नै कार्यान्वयन हुन्छ । नियम बनाएर गर्ने भन्ने चिजका लागि मात्रै नियमावली हो । कानूनले नै स्पष्ट तोकेको चिजमा नियमावली आवश्यक पर्दैन । त्यो स्वतः कार्यान्वयनमा जान्छ । तर कतै त्यो नियमावली आवश्यक पर्ने चिज रहेछ भने त्यो पनि हामीले छिटो गर्न सकिन्छ ।’