arrow

थ्रीस्टार आहा रारा पोखरा गोल्डकपको सेमिफाइनलबाटै बाहिरियो उज्वेकिस्तानी टिम फाइनलमा

logo
हाम्रा कुरा
प्रकाशित २०८१ फागुन १ बिहिबार
threestar-aaharara.jpg
तस्बिर : सुदर्शन रञ्जित

पोखरा । पाँच पटकको च्याम्पियन थ्रीस्टार क्लब २४औँ आहा रारा पोखरा गोल्डकप फुटबल प्रतियोगितामा निरीह बनेको छ ।

छैटाैँ पटक उपाधि जित्ने लक्ष्यमा उज्वेकिस्तानी क्लब ब्ल्याक बुल्स एफसी बाधक बन्यो । आज भएको दोस्रो सेमिफाइनल खेलमा ब्ल्याक बुल्स एफसीसँग बलियो मानिएको थ्रीस्टार क्लब ४-० गोलले पराजित भयो ।

ब्ल्याक बुल्स एफसीले शनिबार बलियो प्रतिद्वन्द्वी नेपाल पुलिस क्लबसँग उपाधिका लागि भिड्नेछ । पुलिस बुधबार चर्च व्वाइज क्लबलाई पाखा लगाउँदै फाइनल पुगेको हो ।

आज भएको प्रतिस्पर्धामा ब्ल्याक बुल्सका कुभोनचबेक ओलिमोभले खेलको २५औँ, असिलबेक ओरिफजोनोभले ५८औँ, सात्तोरोभले ६३औँ र वैकल्पिक खेलाडीको रुपमा मैदान प्रवेश गरेका साइदजमोद दाभलातजोनोभले ८७औँ मिनेटमा गोल गरे ।

थ्रीस्टार र ब्ल्याक बुल्स एफसीले बाई पाएर सिधै क्वार्टरफाइनल खेलेका थिए । क्वार्टरफाइनलमा दुवै टोलीले आ-आफ्ना खेल जित्दै सेमिफाइनलमा भेट भएका हुन् ।

यस वर्ष प्रतियोगिताको विजेताले नगद १२ लाख एक हजार रुपैयाँ नगदसहित शिल्ड, मेडल र प्रमाणपत्र पुरस्कार प्राप्त गर्दा उपविजेताले छ लाख एक हजार रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र पुरस्कार पाउने छन् ।

साथै प्रतियोगिताको सर्वोकृष्ट खेलाडीले स्कुटर प्राप्त गर्नेछन् ।

प्रतियोगितामा विधागत रूपमा सर्वाधिक गोलकर्ता, उत्कृष्ट डिफेन्डर, गोलरक्षक, मिडफिल्डर, स्ट्राइकर र प्रशिक्षकले जनही रू २५ हजार नगदसँगै ट्रफी पुरस्कार पाउने छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ