तरुण दलको महाधिवेशन फास्ट ट्र्याकबाट तोकिएकै मितिमा
हाम्रा कुरा
प्रकाशित २०८१ फागुन १ बिहिबार
2.6k
Shares
काठमाडौँ । नेपाल तरुण दल केन्द्रीय समितिको र जिल्ला अध्यक्षहरुको संयुक्त बैठक बुधबार नेपाली कांग्रेस पार्टी कार्यालय बीपीनगर सानेपामा बसेको छ ।
अध्यक्ष विद्वान गुरुङको अध्यक्षतामा बसेको बैठकमा महाधिवेशन निर्देशन समिति संयोजक पार्टी सहमहामन्त्री डिना उपाध्याय तथा कांग्रेस केन्द्रीय सदस्यद्वय सरिता प्रसाई र राष्ट्रिय सभा सदस्य जितजङ्ग बस्नेतको उपस्थिति रहेको थियो ।
गुरूङले नेपाल तरूण दलको महाधिवेशन फास्ट ट्र्याकबाट निर्धारित समयमै सम्पन्न गर्ने बताए । अध्यक्ष गुरूङले महाधिवेशनका विषयमा द्विविधा नराख्न आग्रह गर्दै महाधिवेशन निर्धारित समयमा हुने विश्वास दिलाए ।
बैठकमा बोल्दै तरुण दलले समयमै अधिवेशन सम्पन्न गर्छ भन्ने कुरा पार्टीलाई विश्वास रहेको कुरा अध्यक्ष गुरुङले बताए ।
अध्यक्ष गुरुङले जिल्लामा केन्द्रीय सदस्य र जिल्ला अध्यक्षहरूबीच एक ढिक्का भएर अघि बढ्न निर्देशन दिँदै केन्द्रीय सदस्य सम्बन्धित जिल्लामा केन्द्रीय प्रतिनिधिको रुपमा खटाइने बताए ।
जिल्लामा केन्द्रीय सदस्यले पूर्णकालीन सदस्य बढीमा फागुनको २९ गतेभित्र केन्द्रमा पठाउन निर्देशन दिँदै अध्यक्ष गुरुङले त्यसपछि चैत्र २ र ३ गते बैठक बसी चैतभित्र महाधिवेशन सम्पन्न गर्ने कार्यतालिका सार्वजनिक गर्ने बताए ।
पार्टीले सबै भ्रातृ संगठनकाे महाधिवशेन चैतभित्रै सम्पन्न गर्न निर्देशन दिएको छ ।