देवघाटसम्म पानी जहाज चल्न सक्छ: मन्त्री दाहाल [भिडियो]
हाम्रा कुरा
प्रकाशित २०८१ माघ २८ सोमबार
499
Shares
काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले एक हजार टनसम्मको पानी जहाज हाजीपुरबाट गण्डक ब्यारेज नारायणी नदी हुँदै देवघाटसम्म ल्याउन सके नेपाललाई ठूलो आर्थिक लाभ हुने बताएका छन् । आइतबारको राष्ट्रिय सभाको बैठक पानी जहाज सञ्चलन तथा व्यवस्थापन विधेयक, २०८१ बारे छलफलमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै उनले कोलकताबाट एक हजार टनसम्मको पानी जहाज हाजीपुरबाट गण्डक ब्यारेज नारायणी नदी हुँदै देवघाटसम्म पुर्याउन प्राविधिकको रूपमा सम्भाव्य देखिएको बताए ।
उनले गर्न सके नेपाललाई ठूलो आर्थिक लाभ हुने र जल यातायातको क्षेत्रमा एउटा कोशेढुंगा साबित हुने दाबी गरे । उनले सोही प्रकृतिका पानी जहाजहरू कोशी र कर्णालीबाट समेत नेपाल भित्र्याउन सक्ने बताए । यस सम्बन्धी नेपाल-भारतबिच सहमति समेत भएको बताए । नेपाल भित्र पनि आन्तरिक जलमार्गहरूमा पानी जहाज चलाउन सम्भाव्य नदीहरू रहेको बताए ।
उनले भने, ‘कोलकताबाट एक हजार टनसम्मको पानी जहाज हाजीपुरबाट गण्डक ब्यारेज नारायणी नदी हुँदै देवघाटसम्म पुर्याउन प्राविधिकको रूपमा सम्भाव्य देखिन्छ । सो गर्न सके नेपाललाई ठूलो आर्थिक लाभ हुने र जल यातायातको क्षेत्रमा एउटा कोशेढुंगा साबित हुनेछ । यही प्रकृतिका पानी जहाजहरू कोशी र कर्णालीबाट समेत नेपाल भित्र्याउन सक्ने देखिन्छ । यस सम्बन्धी नेपाल-भारतबिच सहमति समेत भएको छ । यसै गरी नेपाल भित्र पनि आन्तरिक जलमार्गहरूमा पानी जहाज चलाउन सम्भाव्य नदीहरू रहेका छन् । एक अनुमानअनुसार नेपालमा ६ सयदेखि ८ सय किलोमिटरसम्म जलमार्ग बिस्तार गरी पानी जहाज सञ्चालन गरी यात्रु र माल सामान ओसारपसार गर्न सकिन्छ, उदाहरणको रूपमा कोशी, चतरादेखि भोजपुरको गोप्चेसम्म स्थल मार्गमा जाँदा घण्टौँ लाग्नेमा जलमार्गमा जम्मा १५ देखि २० मिनेटसम्म पुगिन्छ । जुन अहिले पनि सञ्चालन भइरहेको छ ।’