नागरिकलाई मानवीय सेवामा जोड्न अभिप्रेरित गर्नुपर्दछ : प्रदेश प्रमुख
हाम्रा कुरा
प्रकाशित २०८१ माघ २८ सोमबार
498
Shares
पोखरा । गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले मानवीय सेवा नै ठूलो धर्म भएकाले लायन्स जस्ता संस्थाले नागरिकलाई प्रेरणा जागृत गरेको बताएका छन् ।
लायन्स इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ एम नेपालको स्याङ्जा, वालिङमा आयोजित तेस्रो क्याबिनेट बैठकमा भट्टले मानवीय सेवामा समर्पित हुनेहरु पवित्र मन भएका व्यक्तिहरु रहेको र यस्ता नागरिकले राष्ट्र निर्माणमा योगदान दिने बताए । लायन्स, रोटरी, जेसीज जस्ता अन्तर्राष्ट्रिय संस्थाले मानवीय सेवामा जोड्न अभिप्रेरित गरेको उनको भनाइ छ ।
उनले महाभूकम्पको समयमा लायन्स क्लबले नेपालमा पुर्याएको राहत सहयोग प्रशंसनीय रहेको बताए ।
उनले कुनै पनि, जाती, भाषा, धर्म, संस्कृति र राजनीतिक विचारभन्दा माथि उठेर सदा मानवीय सेवामा अग्रसर लायन्स क्लबले आफ्ना सदस्यका लागि नेतृत्व विकास र ठूलो सञ्जाल विस्तार गरी संसारभर सहयोग अघि बढाएको थाहा पाउदा खुशी लागेको बताए ।
‘पछिल्लो समय लायन्स क्लबको संगठन विस्तार विशेष रुपमा भएको पाएको छु, दुर्गम जिल्लामा लायन्स क्लबको विस्तार हुनु राम्रो र सबल पक्ष हो,’ उनले भने, ‘नयाँ पुस्तालाई सामाजिक कार्यमा संलग्न गराउँदै विकास निर्माण कार्यमा जोड्नु आजको आवश्यकता हो । संयुक्त नेतृत्व निर्माणमा यसले महत्वपूर्ण योगदान पुर्याउँछ भन्ने विश्वास लिएको छु ।’
उनले लायन्स क्लबले मानवीय सेवामा गरेका कार्यक्रमको छलफल तथा सरोकारवाला निकायसँगको सहकार्यमा भावी कार्ययोजना सम्बन्धमा बैठक प्रभावकारी बन्न सकोस् भन्ने शुभेच्छा पनि व्यक्त गरे ।