arrow

जेठमा हुने सगरमाथा संवादको तयारी तीव्र पारिँदै, आरजूको संयोजकत्वमा समिति

logo
हाम्रा कुरा
प्रकाशित २०८१ माघ २७ आइतबार
sagarmatha-sambad-meeting1.jpg

काठमाडौँ । आगामी जेठ २ देखि ४ गतेसम्म काठमाडौँमा हुने सगरमाथा संवाद कार्यक्रमका सम्बन्धमा प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा आज तयारी बैठक सम्पन्न भएको छ ।

प्रधानमन्त्री निवास, बालुवाटारमा भएको बैठकले संवादको समग्र मार्गदर्शनका लागि प्रधानमन्त्री ओलीको अध्यक्षतामा निर्देशक समिति गठन गर्ने प्रस्ताव गरिएको छ । 

परराष्ट्रमन्त्री डा आरजू राणा देउवाको संयोजकत्वमा संवादको कार्यकारी समिति गठन गर्ने विषयमा छलफल भएको छ । यस्तै कार्यक्रम आयोजनाका लागि कार्यकारी समिति र सचिवालय गठन गर्ने तयारी भएको छ ।

वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरी, प्रधानमन्त्रीका आर्थिक तथा विकास सल्लाहकार डा युवराज खतिवडालगायत सहभागी बैठकमा संवादको संयोजनका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सचिवालय रहने प्रस्ताव गरिएको छ । 

संवाद कार्यक्रमका लागि छिमेकी मुलुक भारत, चीन तथा दक्षिण एसियाली मुलुकका राष्ट्रप्रमुख वा सरकार प्रमुुखसहितलाई विशेष अतिथिका रूपमा आमन्त्रण गर्ने तयारी भएको छ । 

आयोजना सफल बनाउन राष्ट्रिय र अन्तर्राष्ट्रिय सञ्चारमाध्यमबाट समेत प्रचारप्रसार गराउने तयारी भएको छ । कार्यक्रमबारे सरकारले आजैदेखि ‘सगरमाथा संवाद डट ओआरजी’ वेबसाइट सञ्चालनमा ल्याएको छ ।

मुख्य कार्यक्रमको तयारीलाई भव्य तुुल्याउन समावेशी प्रतिनिधित्व हुनेगरी महिला तथा बालबालिका, ज्येष्ठ नागरिक, युवा, जनजाति, सीमान्तकृत क्षेत्र र वर्गको सहभागितामा पूर्व कार्यक्रम (प्रि–इभेन्ट) आयोजना गर्ने प्रस्ताव पनि गरिएको छ । 

संवादका अवसरमा नेपालको पर्यटन प्रवर्द्धनका लागि नेपाल पर्यटन बोर्ड, नेपाल उद्योग वाणिज्य महासङ्घलगायत निजी क्षेत्रको सहकार्यमा साइडलाइन इभेन्टहरू तथा प्रदर्शनी गर्ने तय भएको छ ।

यो अन्तर्राष्ट्रिय संवाद कार्यक्रमले समाजका सबै पक्ष र तिनै तहका सरकारलाई जोड्ने लक्ष्य लिएको छ ।

यही माघ ८ गते अन्तर्राष्ट्रिय हिमनदी वर्ष, २०२५ का अवसरमा प्रधानमन्त्री ओलीले सो संवाद कार्यक्रम काठमाडौँमा गर्ने घोषणा गरेका थिए । सरकारले पहिलोपटक जलवायु परिवर्तन, हिमाल र मानवजीवनको भविष्यलाई केन्द्रमा राखेर हरेक दुई वर्षमा यस प्रकारको विश्वव्यापी संवाद आयोजना गर्न लागेको हो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ