arrow

हमासद्वारा थप तीन इजरेली बन्धक फिर्ता

बदलामा १८३ प्यालेस्टिनी कैदी रिहा

logo
हाम्रा कुरा
प्रकाशित २०८१ माघ २७ आइतबार
hamas-bandak.jpg

काठमाडौँ ।  सन् २०२३ अक्टोबर ७ मा दक्षिणी इजरेलमा हमासको नेतृत्वमा भएको आक्रमणमा अपहरण गरिएका थप तीन इजरेली बन्धकलाई शनिबार रिहा गरिएको छ । बदलामा इजरेलले विभिन्न समयमा पक्राउ गरी इजरेली जेलमा राख्दै आएका १८३ कैदीलाई रिहा गरेको छ । 

शनिबार रिहा भएका तीन इजरेली बन्धकहरू ५६ वर्षीय ओहाद बेन अमी, ५२ बर्षीय एली शाराबी र ३४ बर्षीय या लेवीलाई शनिबार नै उनीहरूको परिवार र आफन्तको जिम्मा लगाइएको छ । 

हमासले रिहा गरिएका बन्धकलाई गाजाको देइर अल-बलाह शहरको तोकिएको हस्तान्तरण स्थलबाट अन्तर्राष्ट्रिय रेडक्रस समिति (आईसीआरसी) को जिम्मा लगाएको हो । 

कमजोर र थकित देखिएका तीनै जना बन्धकहरूलाई मञ्चबाट आफ्ना अनुभव र रिहाइबारे बोल्नका लागि हमासले निर्देशन दिएपछि उनीहरूले संक्षिप्त भनाइ राखेका थिए । त्यसपछि हमासको सैन्य शाखा अल-कासम ब्रिगेडले आईसीआरसीलाई सुम्पेको थियो ।

हमासले बन्धक बनाएका तीन जना इजरेली बन्धकलाई मध्य गाजाबाट आइसीआरसीको टोलीले इजरेली सीमामा तैनाथ इजरेली रक्षा बल (आइडीएफ)समक्ष स्थानान्तरण गरिएको थियो ।

इजिप्ट र कतारको मध्यस्थता र संयुक्त राज्य अमेरिकाको समन्वयमा हमास र इजरेलबीच युद्धविराम सम्झौताको पहिलो चरण अन्तर्गत बन्धक-कैदी अदलाबदलीको यो पाँचौँ समूह हो ।

यसैबीच, इजरेलले शनिबारदेखि नै थप इजरेली जेलबाट थप १८३ जना प्यालेस्टिनी कैदीलाई रिहा गरेको छ ।

गाजा युद्धविराम सम्झौताअन्तर्गत इजरेलले १८३ प्यालेस्टिनी कैदीलाई रिहा गरेको हो ।

प्यालेस्टाइनी प्रिजनर्स क्लबका प्रमुख अब्दुल्लाह अल-जाघारीका अनुसार रिहा गरिएका कैदीहरूलाई रेडक्रसको अन्तर्राष्ट्रिय समितिको बसबाट रामल्लाह ल्याइएको छ । 

टिभी फुटेजमा रिहा भएका प्यालेस्टिनीहरूलाई शहरको एक चोकमा ठूलो भीडले स्वागत गरेको देखाइएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ