थारु समुदायको हकहित संरक्षण गर्न कांग्रेस प्रतिबद्ध – आरजू राणा
सुनिल आउजी,
प्रकाशित २०८१ माघ २६ शनिबार
483
Shares
धनगढी । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा परराष्ट्र मन्त्री डा आरजू राणा देउवाले थारु समुदायको हकहित संरक्षण गर्न नेपाली कांग्रेस पार्टी सदैव प्रतिबद्ध रहेको बताएकी छिन् ।
नेपाली कांग्रेसको थारु विभाग तथा नेपाल थारु संघले कैलालीको हसुलियामा आयोजना गरेको प्रथम कैलाली जिल्ला भेलामा देउवाले थारु समुदायको हकहितमा लड्ने पार्टी कांग्रेस रहेको बताइन् ।
उनले भनिन्, ‘नेपाली कांग्रेस सधै थारु समुदायको अधिकार स्थापित गर्न लागिरहेको छ, यो तपाईहरु नेपाली कांंग्रेसले थारु समुदायका लागि गरिरहेको कामबाट पनि थाहा पाउनुहुन्छ ।’
उनले २०५८ सालमा नेपाली कांग्रेसले थारु कम्लहरी मुक्त घोषणा गरेकोसमेत स्मरण गराइन् । नेतृ देउवाले सामाजिक सञ्जालमा देशको नकारात्मक चित्रण गर्ने कुरा चुनौतीको रुपमा रहेको बताइन् ।
पछिल्लो समय सामाजिक सञ्जालमा देशमा केही भएको छैन भनेर नकारात्मक प्रचार मात्रै भइरहेको भन्दै देउवाले भनिन्, ‘देशमा केही नभएको होइन धेरै काम भएको छ, बाहिरी देशले हेर्ने दृष्टिकोण पनि राम्रो हुदै गएको छ ।’
नेपाली कांग्रेसको नीति मार्गदर्शन देश बनाउने भएको बताउँदै सबै नेता कार्यकर्तालाई सकारात्मक सोचका साथ अगाडि बढ्न उनले आग्रह गरिन् ।
विभिन्न तहका पार्टी नेता तथा कार्यकर्ताहरूको उल्लेखनीय सहभागिता रहेको कार्यक्रममा थारु समुदायको राजनीतिक सशक्तिकरण, अधिकार सुनिश्चितता, र समृद्धिको विषयमा केन्द्रित रहेर छलफल भएको थियो।
थारु विभागका नेताहरूले समावेशिता, शिक्षा, रोजगारी, र राजनीतिक सहभागिताका विषयमा सरकारको ध्यानाकर्षण गराउँदै आगामी दिनमा थप सक्रिय भूमिकाका लागि माग गरे। भेलामा थारु समुदायको आर्थिक तथा सामाजिक विकासका लागि योजनाबद्ध रणनीति निर्माण गर्ने विषयमा छलफल गरिएको थियो ।
नेपाल थारु संघ कैलालीका अध्यक्ष लक्ष्मीनारायण चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल थारु संघका केन्द्रीय तथा जिल्ला तहका पदाधिकारी, स्थानीय नेताहरू, बुद्धिजीवी, तथा थारु समुदायका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।
भेलाले विभिन्न प्रस्ताव पारित गर्दै आगामी दिनमा थारु समुदायको शसक्तिकरणका लागि प्रभावकारी नीति तथा कार्यक्रम अगाडि बढाउने निष्कर्ष निकालेको छ।