तनहुँ । जिल्लाको भानु नगरपालिका कार्यालयले २६ जना विद्यार्थीलाई प्राविधिक शिक्षा छात्रवृत्ति प्रदान गरेको छ ।
नगरपालिका मातहत रहेका १३ वटा वडाबाट दुई जनाका दरले जनही एक लाख ५० हजारका दरले छात्रवृत्ति उपलव्ध गराएको हो ।
गरिब तथा जेहेन्दार विद्यार्थीलाई तीनवर्षे प्राविधिक शिक्षा हासिल गर्न प्रोत्साहनस्वरूप रकम प्रदान गरिएको प्रमुख प्रशासकीय अधिकृत गौतम भण्डारीले जानकारी दिए ।
नगरपालिकाले विद्यार्थीको प्राविधिक शैक्षिक गुणस्तर वृद्धिका लागि पञ्चवर्षीय योजनाका साथ योजना कार्यान्वयन गर्दै आएको छ ।
भानु नगरपालिकाभित्र रहेका सबै सामुदायिक विद्यालयमा इन्टरनेटको पहुँच पु¥याइएको प्रमुख आनन्दराज त्रिपाठीले जानकारी दिए ।
स्थानीय पाठ्यक्रम ‘हाम्रो भानु’ (कक्षा १-८) निर्माण र प्रयोग हुनुका साथै स्थानीय विषयको कक्षा १ देखि ८ सम्मका पाठ्यपुस्तक निर्माण गरी सबै विद्यालयमा निःशुल्क वितरण गरिएको छ ।
कक्षा १ देखि ८ सम्म पाठ्यपुस्तक निर्माण गर्ने भानु गण्डकी प्रदेशमा पहिलो पालिका बनेको भानु नगर उपप्रमुख उमा गोतामेले जानकारी दिए ।
आधारभूत तहसम्मको शिक्षा अनिवार्य र निःशुल्क दिने सरकारको नीतिलाई कार्यान्वयन गर्नका लागि आधारभूत तह कक्षा १–८ सम्मका सबै परीक्षाको जिम्मा भानु नगरपलिकाले लिएको छ ।
विद्यालयका सबै परीक्षामा प्रश्नपत्र र उत्तरपुस्तिका नगरपालिकाबाट उपलब्ध गराइने भएको छ ।
आधारभूत तहका बालबालिकाले परीक्षाको नाउँमा कुनै पनि शुल्क तिर्नु नपर्ने सामाजिक विकास समितिका संयोजक एवं वडा नं १० का वडाध्यक्ष हरिहर उप्रेतीले बताए ।
नेपाल सरकारले बालविकास केन्द्रदेखि कक्षा ५ सम्मका लागि प्रतिदिन प्रतिव्यक्ति रू १५ का दरले दिवाखाजाका लागि अनुदान दिइरहेकोमा भानु नगरपालिकाले रू पाँच थप गरी प्रतिव्यक्ति रू २० पुर्याइ कक्षा ६ सम्म विस्तार गरेको छ ।
भानु नगरपालिकाअन्तर्गत सञ्चालित सामुदायिक विद्यालयमा कार्यरत बाल विकास केन्द्रका सहयोगी कार्यकर्ता तथा कर्मचारीलाई नेपाल सरकारले तोके अनुरूपको न्यूनतम् पारिश्रमिक उपलब्ध गराइएको उनले बताए ।