arrow

झापा गोल्डकपको खेल तालिका सार्वजनिक, विजेतालाई १३ लाख 

logo
युवराज रेग्मी,  
प्रकाशित २०८१ माघ २४ बिहिबार
jhapa-goldcup-schedule-10-24.jpg

झापा । झापाको भद्रपुरमा फागुन ७ गतेदेखि हुने दोस्रो भद्रपुर झापा गोल्डकप २०८१ को खेल तालिका सार्वजनिक भएको छ । भद्रपुर झापा गोल्डकप गम्भीर राई स्मृति संस्करण–२०८१ फुटबल प्रतियोगिताको खेल तालिका टिम सम्पर्क तथा व्यवस्थापन उपसमितिले बिहीबार  खेल तालिका  सार्वजनिक गरेको हो । 

सौर्य एअर ओम साई पाथीभरा हस्पिटल मुख्य प्रायोजक रहेको  दोस्रो भद्रपुर झापा गोल्डकप २०८१ गम्भीर राई स्मृति फुटबल प्रतियोगिताका वरिष्ठ उपाध्यक्ष तथा टिम सम्पर्क एवम् व्यवस्थापन उपसमिति संयोजक आदित्य पराजुलीका अनुसार उद्घाटन खेल आयोजक भद्रपुर ब्लेजर्स र दार्जिलिङ पुलिस फुटबल क्लब भारतबीच हुनेछ ।

त्यस्तै दोस्रो खेल फागुन ८ गते पछिल्लो समय सिक्किममा भएको मुख्यमन्त्री कप जितेको झापा ११ र ए डिभिजन लिगको दोस्रो स्थानको मछिन्द्र फुटबल क्लबबीच प्रतिस्पर्धा हुनेछ ।
 
भद्रपुर झापा गोल्डकपको तेस्रो खेल फागुन ९ गते पहिलो खेलको विजेतासँग नेपाल पुलिस क्लबले प्रतिस्पर्धा गर्नेछ । लिगमा पुलिस तेस्रो स्थानमा रहेको टोली हो ।

चौथो खेल फागुन १० गते दोस्रो दिनको विजेतासँग चर्च ब्वाइज युनाइटेडले खेल्नेछ । चर्च ब्वाइज लिग च्याम्पियन टोली हो ।

प्रतियोगिता अनुसार पाँचौँ खेल फागुन ११ गते न्यु रोड टिम एन आए टि विरुद्ध बंगलादेशको काउवार्न बाजार प्रगति संघले खेल्नेछ । लिगमा एनआरटी छैटौँ स्थानको टोली हो ।

भद्रपुर झापा गोल्डकपमा छैटौँ खेल फागुन १२ गते एपिएफ फुटबल क्लबले भुटानको ट्रान्सपोर्ट युनाइटेड एफसीका विरुद्ध प्रतिस्पर्धा गर्नेछ ।

प्रतियोगिताको पहिलो सेमिफाइनल खेल फागुन १३ गते हुनेछ । त्यसैगरी दोस्रो सेमिफाइनल खेल फागुन १४ गते हुनेछ । भद्रपुर झापा गोल्डकपको फाइनल खेल फागुन १६ गते हुनेछ ।

दोस्रो संस्करणको भद्रपुर झापा गोल्डकपको विजेताले १३ लाख र उपविजेताले नगद ७ लाख रुपैयाँ प्राप्त गर्नेछ । गोल्ड कप सम्पन्न गर्न एक करोड ७८ लाख रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ ।

प्रतियोगिताभरिको सर्वोत्कृष्ट खेलाडी प्लेयर अफ द टुर्नामेन्टले नगद एक लाख पाँच हजार रुपैयाँ पाउनेछ ।

त्यस्तै उत्कृष्ट गोलकिपर, उच्च गोलकर्ता, उदीयमान खेलाडी र प्रशिक्षकले नगद २५  हजार पाउने आयोजकले जनाएको छ । प्रत्येक खेलको प्लेयर अफ द म्याचलाई नगद २१ हजार रुपैयाँ दिइनेछ ।

प्रतियोगितामा भद्रपुर नगरपालिका संरक्षक र झापा जिल्ला खेलकुद विकास समिति समन्वयकर्ताको रुपमा रहेका छन् ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ