अब यात्रु आफैँले ट्राफिक लाइट बालेर बाटो काट्न सकिने [भिडियो]
हाम्रा कुरा
प्रकाशित २०८१ माघ २३ बुधबार
670
Shares
काठमाडौँ । काठमाडौंको बागबजारस्थित पद्मकन्या बहुमुखी क्याम्पस अगाडिको सडकमा पैदल यात्रुले आफैँले बटन थिचेर ट्राफिक लाइट बाल्ने प्रविधि सञ्चालनमा आएको छ । बुधबारदेखि पद्मकन्या अगाडिको सडकमा काठमाडौं महानगरपालिकाले पेलिकन क्रसिङ सञ्चालनमा ल्याएको हो ।
पैदल यात्रुको सुरक्षालाई मध्यनजर गर्दै काठमाडौं महानगरले अहिलेसम्म ३६ ठाउँमा पेलिकन क्रसिङ सञ्चालनमा ल्याइएको काठमाडौं महानगरपालिकाका ट्राफिक विज्ञ सल्लाहकार जगतमान श्रेष्ठले बताए । उनले सडक दुर्घटना न्यूनीकरण र यात्रुको सुरक्षाका लागि उक्त प्रविधिको अवधारणा ल्याइएको बताए । उनकाअनुसार पेलिकन क्रसिङ गर्दा यात्रुले बटन थिच्ने बित्तिकै केही समयका लागि सवारीसाधन रोकिनेछन् र यात्रुले ढुक्कका साथ क्रस गर्न सकिनेछ । यात्रुको सुरक्षालाई मध्यनजर गर्दै महानगरपालिकाले अन्य ठाउँहरू समेत ट्राफिक लाइट बाल्ने प्रविधि शुरु गर्न लागेको बताए ।
उनले भने, ‘यसलाई बटन क्रसिङ भन्छ । जबसम्म यसमा रहेको बटनलाई पुस गरिँदैन यसले काम गर्दैन । पुस गरिसकेपछि यसले आफ्नो समयमा काम गर्छ । अहिले जथाभाबी क्रस गर्ने भएको कारण सुरक्षित छैन । अहिले हामीले ३६ ठाउँमा यो राखेका छौं । यसमा पुस गरिसकेपछि निश्चित समयका लागि गाडी रोकिन्छ । र ढुक्कका साथ बाटो काट्न सक्छ । यात्रुको सुरक्षालाई मध्यनजर गरेर काठमाडौं महानगरपालिकाले यो कामहरू गर्न थालेको हो ।’
सडक सुरक्षाका लागि जेब्रा क्रसिङमा ट्राफिक लाइट राखिनु उदाहरणीय काम भएको भन्दै स्थानीय खुसी भएका छन् । पद्मकन्या बहुमुखी क्याम्पसकी विद्यार्थी सन्ध्या बस्नेतले उक्त प्रविधिले सडक दुर्घटना कम हुने विश्वास लिइन् । पद्मकन्या अगाडिको सडकमा महिनैपिच्छे दुर्घटना हुने भएको कारण काठमाडौं महानगरको यस कार्यको प्रशंसा गरिन् ।