संविधानको मर्मअनुसार जिम्मेवार भएर काम गरौँ : प्रदेश प्रमुख भट्ट
हाम्रा कुरा
प्रकाशित २०८१ माघ २२ मंगलबार
640
Shares
पोखरा । गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले संविधानको मर्मअनुसार जिम्मेवार भएर काम गर्नुपर्नेमा जोड दिएका छन् ।
गण्डकी प्रदेश स्थापना दिवसका अवसरमा गण्डकी प्रदेशसभा र गण्डकी प्रदेश सरकारद्वारा संयुक्त रूपमा आयोजित कार्यक्रममा उनले नेपालको संविधान, संवैधानिक कार्यसूची, प्रचलित कानुन, संघीयताको मर्मअनुसार नागरिकसामु जिम्मेवार भई काम गर्नुपर्ने बताए ।
‘नागरिकसामु जिम्मेवार भई उहाँहरूका अपेक्षा तथा चाहना गण्डकी प्रदेशसभा र गण्डकी प्रदेश सरकारले आ-आफ्ना कार्यक्षेत्रबाट पूर्ण प्रतिबद्ध रही पूरा गर्न सक्नुपर्छ, त्यसका लागि यस अवसरमा शुभेच्छा प्रकट गर्दछु’, उनले भने ।
प्रदेश स्थापनाको औचित्य प्रमाणित गर्न सरोकारवाला निकायले थप कसरत गर्नुपर्ने भन्दै उनले संवैधानिक अधिकार बमोजिम प्राप्त जिम्मेवारी कार्यान्वयनमा संघीय सरकार तथा स्थानीय तहसँग समन्वय गर्नुपर्ने आवश्यकता औँल्याए ।
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रदेशसभा स्थापना दिवस र प्रदेश सरकार स्थापना दिवस फरक-फरक दिनमा मनाउने गरिएकोमा यस वर्षदेखि गण्डकी प्रदेश स्थापना दिवसको रूपमा आजको दिनलाई प्रदेशसभा र प्रदेश सरकारले सामूहिक मनाउने निर्णय गरिएको जानकारी दिए ।
संविधानले प्रदेश सरकारलाई सुव्यवस्था, विधि निर्माण र कार्यकारिणीसहित राजनीतिक, प्रशासनिक, वित्तीय हस्तान्तरण, सेवाप्रवाह, विकास एवं रोजगारीलगायत कार्यसूची नागरिकसामु वितरण गर्ने अभिभारा दिएको उनले बताए ।
उनले लोकतन्त्र एवं संघीय शासन प्रणालीअनुरूप व्यवस्थालाई सबलीकरणमार्फत सर्वसाधारणको जनजीवनमा सकारात्मक परिवर्तन ल्याउने मार्गमा गण्डकी प्रदेश सरकार दृढ संकल्पित रहेको बताए ।
विकास, नीति र सुशासनसहित जनविश्वास र भरोसालाई बढोत्तरी गर्दै नागरिकसामु देखिने, सुनिने र महसुस गर्नेगरी गण्डकी प्रदेश सरकारले आफूलाई स्थापित गर्ने मार्गमा अघि बढिरहेको मुख्यमन्त्रीको भनाइ छ ।
गण्डकी प्रदेशसभाका सभामुख कृष्णप्रसाद धितालले प्रदेशको औचित्यलाई पुष्टि गर्ने गरी काम गर्नु आवश्यक रहेको बताए ।
पूर्वमुख्यमन्त्री एवं नेकपा (एमाले) संसदीय दलका नेता खगराज अधिकारीले प्रदेश स्थापनायता महत्त्वपूर्ण कामहरू भइरहेको बताउँदै यसलाई बलियो बनाउनेतर्फ लाग्नुपर्ने आवश्यकता औँल्याए ।
कार्यक्रममा नेकपा (माओवादी केन्द्र) संसदीय दलका नेता हरिबहादुर चुमान, पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य, प्रेस रजिष्ट्रार विमला भण्डारीलगायतले प्रदेशमा भइरहेका विकासका कार्यक्रमले जनतामा सकारात्मक सञ्चार प्रवाह भएको दाबी गरे ।
कार्यक्रममा प्रदेश स्थापना दिवसका अवसरमा आयोजित विभिन्न प्रतियोगिताका विजयीलाई पुरस्कृत गरिनुका साथै जातजातिका संस्कृति झल्काउने नृत्य प्रस्तुत गरिएको थियो । उक्त अवसरमा गण्डकी प्रदेश सरकारका उपलब्धि समेटिएको पुस्तक लोकार्पण गरिएको थियो ।