प्रयागराज महाकुम्भमा ३७ करोडले गरे स्नान [फोटोफिचर ]
हाम्रा कुरा
प्रकाशित २०८१ माघ २२ मंगलबार
629
Shares
[अपडेट] काठमाडौँ । भारतको प्रयागराज (उत्तर प्रदेशको पूर्वी भागमा अवस्थित तीर्थस्थलहरुको राजा भनेर चिनिने धर्मराज) मा हिन्दू धर्मावलम्बीहरूको सबैभन्दा ठूलो महाकुम्भ जारी रहेको छ ।
माघ २१ गते (३ फेब्रुअरी) सम्म ३७ करोडले स्नान गरेका छन् । मंगलबार २३ औँ दिन हो । गत पुस २९ गते (१३ जनवरी) देखि शुरु भएको यो महाकुम्भ महाशिवरात्रीका दिन फागुन १४ गते सम्पन्न हुँदैछ । सोमबार वसन्त पञ्चमीको अवसरमा २ करोड ३३ लाखले स्नान गरे ।
आज भुटानी राजा जिग्मे खेसर नामग्याल वाङ्चुकले स्नान गर्नेछन् । उनी उत्तर प्रदेशका मुख्य मन्त्री योगी आदित्यनाथसँग संगममा पुग्नेछन् ।
बुधबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी पुग्नेछन् ।
गत जनवरी २९ मा भएको भागदौडले गर्दा ३० जनाको ज्यान गएपछि प्रशासनले निकै सावधानी अपनाइरहेको छ ।
प्रयागराज प्रहरीले अफबाह फैलाउने ८ जनाविरुद्ध एफआरआई दर्ता गरेको छ । यिनीहरुले सामाजिक सञ्जाल एक्स र इन्स्टाग्राममा भिडियो र तस्बिर राखेका थिए ।
वसन्त पञ्चमीको साथसाथै महाकुम्भमा तीन अमृत स्नान पूरा भएको छ । अब तीन स्नान पर्व बाँकी छ । सो अवसरमा श्रद्धालुले डुबकी लगाउने छन् ।
वसन्त पञ्चमीमा योगी सन्यासीहरुले तरबार नचाएका थिए ।
यो महाकुम्भ हरेक १२४ वर्षमा आउने गर्छ ।
महाकुम्भमा पुगेका श्री श्री रविशंकरले कुम्भ आफैँमा अद्भुत अनुभव भएको बताए ।
मुख्यमन्त्री योगी आदित्यनाथका सल्लाहकार अवनीशकुमार अवस्थीका अनुसार सन् २०१९ मा प्रधानमन्त्री नरेन्द्र मोदीको मार्गदर्शन र मुख्यमन्त्री योगीको व्यवस्थाका आधारमा २५ करोड भन्दा बढीले सहभागीता जनाएका थिए ।
यसपटक पलपल योगीले निगरानी गरिरहेका छन् । अप्रिय घटना नहोस् भने सुरक्षा निकाय तम्तयार रहेको छ ।
अवस्थीले यसपालि डेढ महिने महाकुम्भमा ५० करोड भन्दा बढीले सहभागीता जनाउने दाबी गरे ।
पुस पूर्णिमाबाट शुरु भएर मेला आगामी शिवरात्रीको दिनसम्म लाग्नेछ । हरेक १२ वर्षमा आयोजना हुने कुम्भमेला यसपालि प्रयागराजमा सबैभन्दा ठूलो महाकुम्भ आयोजना भइरहेको हो ।
यो महाकुम्भ मेला १२४ वर्षपछि भइरहेको हो । यो अहिलेसम्मकै ठूलो मेला हुनेछ ।
हिन्दू धार्मिक तथा पौराणिक ग्रन्थहरूमा कुम्भ मेलालाई ‘अमर मेला’ भनिएको छ । त्यसैले कुम्भमेलामा लाखौं भक्तजन आफ्नो विवेक शुद्ध गर्न यस पवित्र स्थानमा स्नान गर्न आउँछन् ।
महाकुम्भमा विश्वभरका साधु तथा भक्तजनहरुले आस्थाको डुबकी लिने गर्दछन् । कुम्भ मेलामा शाही स्नानको विशेष महत्व हुन्छ ।