छ वर्षमा नसकिएको बुटवल–नारायणगढ सडक सकिएला त अबको छ महिनामा ? [भिडियो]
नारायण वली,
प्रकाशित २०८१ माघ २० आइतबार
691
Shares
लुम्बिनी । बुटवल–नारायणगढ सडक विस्तारले पछिल्लो समय तीव्रता पाएको छ । तेस्रो पटक थप भएको म्याद सकिन ६ महिना मात्रै बाँकी रहँदा अहिले विस्तार कामले धमाधाम तीव्रता पाएको हो ।
म्याद थप भएको चार महिनासम्म पनि काम नगरेको ठेकेदार कम्पनी चिनियाँ कम्पनी चाइना स्टेट कर्पोरेसनले अहिले पूर्वी र पश्चिम दुवै खण्डतर्फको कामलाई तीव्रता दिइरहेको बेला बुटवलको रामगरचोकदेखि अशोक पेट्रोल पम्प नजिक विवाद हुँदा विस्तार काम रोकिन पुगेको छ ।
बुटवल उपमहागनरपालिका वडा न ७/८ मा भइरहेको नाली विस्तारको कामलाई आयोजनाले सुखौरा खोलामा पानी झार्ने गरी अगाडि बढाईरहेको बेला वर्षातको समयमा पानी वस्तीमा पसेर डुबानपर्ने भन्दै वडाका आ-आफ्ना अडानले विवाद उत्पन्न भएपनि त्यसक्षेत्रको काम बन्द हुन पुगेको बुटवल-नारायणगढ सडक विस्तार आयोजनाको परामर्शदाता कोरिया इन्जिनियरिङ कन्सल्टेन्ट कर्पोरेसनका दाउन्ने पश्चिम खण्डका इन्जिनियर शसी श्रेष्ठले बताए ।
शुरुवाती चरणमा विभिन्न समस्याले काम हुन सकिन, दोस्रोपटकको समयमा २ प्रतिशत काम भयो, तेस्रोपटकको म्याद थप अहिले कामले तीव्रता पाएको छ ।
'हाम्रो कोरिया इन्जिनियरिङ कम्पनीले ठेकेदारलाई आगामी वैशाखसम्म एकसय किलोमिटर कालोपत्रे गरिसक्नुपर्ने नोटिससमेत दिइसकिएको छ । काम तीव्र भए पनि अझै सन्तोषजनक छैन', इन्जिनियर श्रेष्ठले भने ।
पश्चिम खण्डमा पश्चिम नवलपरासीको खैरेनी बजार, भुताहा, र बुटवलको धागो कारखाना, चौराहा लगायतका ठाउँमा एक साईड कालोपत्रे गर्ने कामलाई अघि बढाइएको विस्तार आयोजना कार्यालयले जनाएको छ ।
परामर्शदाता कोरियन कम्पनीले ठेकेदारलाई चेतावनी पत्र (नोटिस टु करेक्ट) पठाएर मंसिर २५ गतेसम्म सडकको एकातर्फ ७० प्रतिशत कालोपत्रे र चैत १७ गतेभित्र नारायणगढदेखि बुटवलसम्म १ सय १६ किलोमिटर एकतर्फि सबै कालोपत्रे गरिसक्नुपर्ने सर्त राखेपछि विलम्ब भएको विस्तार कार्यले तीव्रता पाएको छ ।
हालसम्म पूर्वी खण्डमा ५५ किलोमिटर भन्दा माथि र पश्चिम खण्डमा ३५ किलोमिटर कालोपत्रे गरिसकेको आयोजना कार्यालयले बताएको छ । अहिलेसम्म दुवै खण्डमा गरेर ५५ प्रतिशत काम भएको बताइएको छ ।
२०७५ चैत ८ गते सम्झौता भएर काम शुरु भएको पूर्वपश्चिम महेन्द्र राजमार्ग विस्तारको काम २०७९ साउन २२ भित्र सक्नुपर्ने उल्लेख भए पनि ६ वर्षसम्म पनि निर्माण कार्य सकिएको छैन ।
कोरोना संक्रमण, निर्माण सामग्री अभावको कारण देखाएर पहिलो पटक २०८० साउन ११ सम्म म्याद थप भएको थियो भने दोस्रो पटक २०८१ साउन ८ सम्म म्याद थप गरिएको थियो ।
दोस्रो पटक पनि काम सम्पन्न नभएपछि तेस्रो पटकका लागि २०८२ साउन ८ गतेसम्मका लागि म्याद थप गरिएको छ ।
नारायणगढ–बुटवल १ सय १४ किलोमिटर सडकलाई २ खण्डमा विभाजन गरेर ठेक्का सम्झौता गरिएको थियो । नवलपुरको गैंडाकोटदेखि दाउन्नेसम्म ६५ किलोमिटरलाई ‘क’ र दाउन्नेदेखि बुटवलसम्मको ४९ किलोमिटरलाई ‘ख’ खण्डमा विभाजन गरेर काम भइरहेको छ । एसियाली विकास बैंक (एडीबी) को ऋण सहयोगमा १६ अर्ब ९९ करोड ५२ लाख लागतमा राजमार्गको बिस्तार कार्य अघि बढाईएको छ ।