arrow

इजरायल–हमास युद्धविरामको दोस्रो चरणबारे नेतान्याहूले अमेरिकासँग छलफल गर्ने

logo
हाम्रा कुरा
प्रकाशित २०८१ माघ २० आइतबार
israel-PM-benjamin-netanyahu.jpg
तस्बिर – फाइल ।

जेरुसेलम । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले गाजा युद्धविरामको दोस्रो चरणको वार्ताका सम्बन्धमा सोमबार अमेरिकी अधिकारीहरूसँग छलफल गर्ने भएका छन् । 

प्रधानमन्त्री नेतन्याहूले आइतबार अमेरिकी राष्ट्रपतिका मध्यपूर्वदूत स्टिभ विटकोफसँग कुराकानी गरेको र अमेरिकी अधिकारीहरूसँग ‘वासिङ्टनमा हुने भेटवार्तामा थप छलफल गर्ने’ सहमति जनाएका छन् । 

हमास र इजरायलका मध्यस्थकर्ता र प्रतिनिधिमण्डलबीच भएको ४२ दिने पहिलो चरण अर्को महिना समाप्त हुनेछ भने दोस्रो चरणको औपचारिक वार्ताको मिति तय गरिएको छैन ।

विटकोफले इजरायलका प्रधानमन्त्री नेतन्याहूसँग दोस्रो चरणको वार्ता अघि बढाउनका लागि छलफल गर्नुअघि प्रमुख मध्यस्थकर्ता कतार र इजिप्टसँग कुरा गर्ने बताइएको छ । 

दोस्रो चरणमा बाँकी रहेका बन्दीको रिहाई र युद्धको स्थायी अन्त्यका बारेमा थप छलफल हुने अपेक्षा गरिएको छ । यसको नेतान्याहू सरकारका धेरै सदस्यहरूले विरोध गरेका छन् ।

इजरायलबाट १५ महिनाभन्दा बढी समयदेखि बन्धक बनाइएका ३३ व्यक्तिको रिहाइका बदलामा इजरायलमा बन्दी रहेका करिब एक हजार ९०० प्यालेष्टिनीको रिहाइको लागि जनवरी १९ मा इजरायलसँगको युद्धविराम सम्झौताअन्तर्गत हमास र उसको सहयोगी इस्लामिक जिहादले अहिलेसम्म १८ जना बन्धकलाई रेडक्रसको अन्तर्राष्ट्रिय समितिलाई सुम्पेको छ ।

हमास स्रोतका अनुसार आगामी शनिबार बन्धकको पाँचौँ समूह र प्यालेष्टिनी कैदीबीच आदानप्रदान हुनेछ ।

युद्धविरामको छ हप्ताको पहिलो चरण ३३ बन्धक र एक हजार ९०० प्यालेष्टिनीको आदानप्रदान कसरी हुन्छ भन्ने कुराले दोस्रो चरणको सम्झौताको वातावरण बन्नेछ । एजेन्सी



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ