arrow

टाइगर कप : पहिलो क्वालिफायरमा आर्मी र पुलिस भिड्ने

logo
हाम्रा कुरा
प्रकाशित २०८१ माघ १७ बिहिबार
army-win-tiger-cup.jpg

पोखरा । पाँचौं टाइगर कप भलिबल प्रतियोगिताअन्तर्गत पुरुषतर्फको पहिलो क्वालिफायरमा नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लब भिड्ने भएका छन् ।

‘जित्ने समूह’ को अन्तिम खेलमा भारतको सुनिल भलिबल क्लबलाई ३-२ को सेटमा पराजित गर्दै आर्मीले पहिलो क्वालिफायर खेल्ने पक्का गरेको हो ।

पहिलो सेट २०-२५ ले गुमाएको आर्मीले दोस्रो र तेस्रो सेटमा पुनरागमन गरेको थियो । दोस्रो सेट २५-१८ र तेस्रो सेट २५-२३ ले आफ्नो पक्षको पारेको थियो ।

तेस्रो सेटमा ५-१० स्थितिलाई उल्टाउँदै सुनिल क्लबले २२-२२ को अवस्थामा पुर्याएको थियो । तर, अन्तिममा पुनः आर्मीले अग्रता लिँदै सेट आफ्नो पक्षमा पार्यो ।

चौथो सेट भने आर्मीले २३-२५ ले सुनिल क्लबलाई सुम्पिदा खेल पाँचौं सेटमा धकेलिएको थियो । पाँचौं सेटमा उत्कृष्ट प्रदर्शन गर्दै आर्मीले १५-१२ ले जित दर्ता गर्यो ।

योसँगै ‘जित्ने समूह’ बाट आर्मी शीर्ष र पुलिस दोस्रो स्थानमा रहँदै पहिलो क्वालिफायरमा स्थान पक्का गरेका छन् ।

दुई खेलबाट एक अंक जोडेको सुनिल क्लब तेस्रो स्थानमा रहँदै एलिमिनेटरमा पुगेको हो ।

आज बिहान भएको पहिलो खेलमा महिलातर्फ नेपाल पुलिस क्लबलाई ३-० को सोझो सेटमा पराजित गर्दै टिपटप न्यू डायमण्ड स्पोट्र्स क्लब दोस्रो क्वालिफायरमा प्रवेश गरेको छ ।

न्यू डायमण्डले अब सशस्त्र प्रहरी बल एपिएफ र आयोजक टाइगर ग्रुपबीचको खेलमा पराजित हुने टोलीसँग प्रतिस्पर्धा गर्नेछ ।

अब आजको तेस्रो खेल गण्डकी प्रदेश र टिपटप हेल्प नेपाल स्पोट्र्स क्लबबीच हुनेछ । उक्त खेलको विजेताले एलिमिनेटर खेल्नेछ ।

टाइगर ग्रुप अफ पोखरा नेपालद्वारा आयोजित टाइगर कप १९ गतेसम्म चल्नेछ ।

प्रतियोगिता विजेताले पाँच लाख ८५ हजार पाँच सय ५५, उपविजेता दुई लाख ८५ हजार पाँच सय ५५ र तेस्रो हुनेले एक लाख ८५ हजार पाँच सय ५५ पाउनेछन् ।

सर्वोत्कृष्ट खेलाडीले २५ हजार सात सय ७७ तथा विधागत उत्कृष्टतर्फ उत्कृष्ट सर्भर १० हजार पाँच सय ५५, उत्कृष्ट सेटर, उत्कृष्ट लिब्रो, उत्कृष्ट स्पाइकर र उत्कृष्ट कोचले समान १० हजार पाँच सय ५५ पाउनेछन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ