प्रदेश सरकारले अब टुक्रे योजना बनाउँदैन : मुख्यमन्त्री
हाम्रा कुरा
प्रकाशित २०८१ माघ १७ बिहिबार
724
Shares
फाइल तस्बिर
बाँके । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले अब प्रदेश सरकारले टुक्रे योजना नबनाउने बताएका छन् ।
नेकपा (एमाले) लुम्बिनी प्रदेश कमिटीको नेपालगञ्जमा आयोजित चौथो पूर्ण बैठकमा मुख्यमन्त्री आचार्यले प्रदेश सरकारको प्राथमिकता, सञ्चालन भइरहेका कार्यक्रम र भावी योजनाबारे जानकारी गराउँदै प्रदेश सरकारले अब ठूला र मझौला खालका योजनाहरूमा बजेट केन्द्रित गर्ने बताए ।
“प्रदेश सरकारले अब टुक्रे योजना बनाउँदैन, योजना छरेर होइन, परिणाममुखी बनाएर जाने सरकारले रणनीति बनाएको छ”, मुख्यमन्त्रीले भने, “व्यक्तिपिच्छे आउने टुक्रे योजना नभई मझौला र ठूला योजना कार्यान्वयनमा सरकारले ध्यान दिनेछ ।”
आगामी वर्षको बजेट तथा कार्यक्रम बनाउँदा संस्थागत प्रक्रियालाई प्राथमिकतामा राखिने उनको भनाइ छ ।
योजना छनौटमा देखिएको विकृति रोक्नकै लागि पाँच लाखभन्दा माथिका योजना प्रतिस्पर्धाबाट कार्यान्वयन गर्ने निर्णयमा सरकार पुगेको उल्लेख गर्दै मुख्यमन्त्रीले हरेक खाले विकृति रोक्न सरकार निर्मम भएर अगाडि बढिरहेको दाबी गरे ।
मुख्यमन्त्रीले ७० प्रतिशतभन्दा बढी योजना ठेक्का प्रक्रियाबाट कार्यान्वयनमा गइसकेको र बाँकी योजना पनि कार्यान्वयनको चरणमा रहेको जानकारी गराए ।
उनले आफू सरकारको नेतृत्वमा पुगेपछि प्रदेश सरकारले गरेका काम, प्राथमिकता, भावी योजनासहितका विषय समेटिएको प्रतिवेदन पार्टीका प्रदेश इञ्चार्ज पद्मा अर्याल र पार्टीका प्रदेश अध्यक्ष राधाकृष्ण कँडेललाई बुझाएका थिए ।