जिल्लाको राजस्व चुहावट नियन्त्रण समितिको अध्यक्ष प्रजिअ भए पनि बोलाइएन कार्यक्रममा, सोधखोज गरिने
दीपेन्द्र चौहान,
प्रकाशित २०८१ माघ १६ बुधबार
1.1k
Shares
वीरगञ्ज । वीरगञ्जस्थित एकीकृत भन्सार जाँच चौकी (आईसीपी) को ‘ग्रीन च्यानल’ मार्फत तस्करी भइरहेको खुलासा भएको छ । तस्करी भइरहेको खुलासा वीरगञ्ज भन्सार कार्यालयमै आयोजित एक कार्यक्रममा वक्ताहरुले गरेका हुन् ।
प्रतिनिधि सभाको अर्थ समितिले भन्सार विधेयक संशोधन सम्बन्धी आयोजना गरेको छलफल कार्यक्रममा सहभागीहरूले आईसीपीका कर्मचारीहरूको मिलेमतोमा तस्करी भइरहेको बताएका थिए । उनीहरूले तेस्रो मुलुकबाट कम भन्सार महसुल भएका सामानको बदलामा महँगा सामान भित्र्याउने कार्य भइरहेको र यसलाई रोक्न कानून संशोधन आवश्यक रहेको सुझाव दिएका छन् ।
साथै ‘ग्रीन च्यानल’ बाट जाने सामानहरूको पनि सुरक्षा निकायले चेकजाँच गर्न पाउने व्यवस्था लागू गर्नुपर्नेमा जोड दिएका छन् ।
वीरगञ्ज उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष हरि गौतमले राज्यको नीतिका कारण तस्करी मौलाउँदै गएको आरोप लगाउँदै उपभोग्य वस्तुमा धेरै भन्सार लगाउँदा ती वस्तुहरू गलत बाटोबाट आउने गरेको बता ए। उनले कम्तीमा एक सयवटा वस्तुमा कर कम गर्न सुझाव दिए ।
अर्थ समितिको टोलीले वीरगञ्ज भन्सार कार्यालय, आईसीपी लगायतका स्थानहरूको स्थलगत निरीक्षण गर्दा एक्सरे मेसिन, ल्याब जस्ता महत्वपूर्ण उपकरणहरूको अभाव रहेको पाइएको छ । जसका कारण राजस्व चुहावट रोक्न कठिनाइ भएको निष्कर्ष निकालेको छ ।
समग्रमा भन्सार सम्बन्धी कानून संशोधन र एकीकरणका लागि बनेको विधेयकमा छलफल गर्दै सरोकारवालाहरूले तस्करी रोक्न कानूनी सुधार र भन्सार प्रक्रियामा पारदर्शिता आवश्यक रहेको औंल्याइएको छ ।
टोलीमा नारायणी शर्मा, जुली महतो ,अन्जनी श्रेष्ठ, छिरिङ डिम्डुल लामा, मुक्ता यादव र नारायणप्रसाद आचार्य लगायतका प्रतिनिधि सभाका सदस्यहरुको सहभागिता रहेको थियो ।
भन्सार कार्यालयका प्रमुख रामप्रसाद पाठकले संयोजन गरेको सो छलफल कार्यक्रममा पाठकले चाहेका सञ्चारकर्मी र भन्सार एजेण्टहरूको सहभागिता रहेको थियो । पर्सा जिल्लामा सक्रिय रहेका कुनै राजनीतिक दल र जनप्रतिनिधि यहाँसम्म कि प्रमुख जिल्ला अधिकारी गणेश अर्याललाई पनि सो कार्यक्रममा बोलाइएको थिएन ।
यस सम्बन्धमा प्रजिअ अर्यालले जिल्लाको राजस्व चुहावट नियन्त्रण समितिको अध्यक्ष आफू भए पनि किन माइनस गरियो यसको सोधीखोजी गरिने बताए ।
हाम्राकुराले यसरी वीरगञ्ज भन्सार कार्यालय आईसीपीका भन्सार प्रमुख रामप्रसाद पाठकको नेतृत्वमा व्यक्तिगत दोहन सम्बन्धी समाचार प्रकाशन गरेको थियो ।