काठमाडौँ । स्पेनिश लिग ला लिगामा २१ औँ चरणका खेल सकिने क्रममा छन् । सो क्रममा गएराति भएको खेलमा पूर्व विजेता बार्सिलोना घरेलु मैदानमा बर्सिएको छ ।
बार्साले भ्यालेन्सियालाई ७–१ को फराकिलो अन्तरले पराजित गर्यो । एकतर्फी खेल खेलेको बार्साका लागि फर्मिन लोपेजले २ तथा फ्रेन्कि डे जोङ, फेरान टोरेस, राफिन्हा र रोबर्ट लेवान्डोस्कीले एक एक गोल गरे । सेसार टारेगाले आत्मघाती गोल गरे ।
भ्यालेनिसयाका ह्युगो डुरोले सान्त्वना गोल फर्काए ।
यो खेलपछि बार्सिलोना गोल अन्तर सबैभन्दा बढी बनाउँदै ४२ अंकसहित तेस्रो स्थानमा छ । ४५ अंकबाट एथ्लेटिको मड्रिड दोस्रो हुँदा रियाल मड्रिड ४९ अंकसहित शीर्ष स्थानमा छ ।
एथलेटिक क्लब ४० अंकसहित चौथो, भिल्लारियल ३४ अंकसहित पाँचौँ तथा मयोर्का २३ अंकसहित छैटौँ स्थानमा छ ।
स्पानियोल, भ्यालेन्सिया र रियाल भल्लाडोलिड रेलिगेशन क्षेत्रमा छन् ।