पोखरा । मिस तामाङ पोखराको उपाधि लेकसाइडकी शीशा घिसिङ तामाङले जितेकी छन् । शनिबार पोखरामा भएको प्रतिस्पर्धामा १० प्रतियोगीलाई पछि पार्दै उनले मिस फ्रेन्डली सबटाइटलसहित मिस तामाङ पोखराको ताज पहिरिएकी हुन् ।
प्रमुख निर्णायक नेपाल चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीले तामाङ समुदायलाई किन समृद्धशाली समुदाय भनिन्छ भनेर सोधेको प्रश्नमा अन्य उत्कृष्ट पाँच प्रतिस्पर्धीभन्दा सर्वोत्कृष्ट उत्तरका साथ उनले बाजी मारेकी हुन् ।
बैदाम तामाङ सेवा समाजको आयोजनामा भएको नवौं संस्करणको मिस तामाङ पोखरामा मिस पंक्चुवलसहित फर्स्ट रनरअप आकृति थिङ तामाङ बनिन् ।
प्रतियोगिताका विजेताले ताज, ट्रफी, प्रमाणपत्रसहित एक लाख रुपैयाँ नगद तथा आकर्षक गिफ्ट ह्याम्पर प्राप्त गरेकी छन् ।
फस्ट रनरअपले ताज, ट्रफी, प्रमाणपत्रसहित नगद ५० हजार रुपैयाँ प्राप्त गरिन् । सेकेण्ड रनर अपले ताज, ट्रफी, प्रमाणपत्रसहित नगद ३० हजार रुपैयाँ हात पारिन् । भ्युअर्स च्वाइसका विजेताले नगद २० हजार पुरस्कार प्राप्त गरिन् ।
कार्यक्रममा गण्डकी प्रदेश सभा सदस्य पार्वती तामाङले यस्ता खालका कार्यक्रमले युवा पुस्तामा तामाङ जातिको भाषा, संस्कार र संस्कृतिको प्रवद्र्धन हुने बताइन् ।
कार्यक्रममा नेपाल तामाङ घेदुङका केन्द्रीय उपाध्यक्ष दीपक वाइवा तामाङ, नेपाल चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसी, मिस नेपाल २००९ जेनिशा मोक्तान, कार्यक्रम संयोजक रोश्मा ब्लोन तामाङ, सहसंयोजक रोशिला तामाङ, राम लामा, जिता लामा, सञ्चारकर्मी सञ्जय मल्ललगायतले बोलेका थिए ।
प्रतियोगिताका निर्णायकमा नेपाल चलचित्र विकास बोर्डका अध्यक्ष डिसी, मिस नेपाल २००९ जेनिशा मोक्तान, गीतकार तीर्थ तामाङ, कलाकार जानकी बोहरा र कमला गुरुङ थिए ।
बैदाम तामाङ सेवा समाजका अध्यक्ष ज्याक तामाङको अध्यक्षतामा भएको कार्यक्रममा गायक सोनाम मोक्तान, हास्य कलाकार राजेन्द्र नेपाली, युवराज भण्डारीलगायतले प्रस्तुति राखेका थिए ।