महानगर यातायातले टाटाका थप ४० बस ल्यायो संचालनमा [तस्बिर]
हाम्रा कुरा
प्रकाशित २०८१ माघ १० बिहिबार
592
Shares
काठमाडौँ । नौ वर्षअघि अर्थात् २०७२ सालमा काठमाडौंको चक्रपथमा गुड्ने गरी एकै पटक ३९ वटा ठूला सिटी बसहरु संचालनमा ल्याउनु सहज थिएन ।
गोरखा भूकम्पका कारण एकातिर यातायात ब्यवसायीहरु समस्यामा थिए अर्कोतिर ब्यवसायीलाई हेर्ने आम धारणा सकारात्मक थिएन । त्यस्तो अवस्थाबीच महानगर यातायातलाई सरकारी नीति अनुसार प्रालिको रुपमा संचालन गर्नु निकै चुनौतीपूर्ण थियो ।
सेवा संचालनको शुरुआती दिनहरुमै चौतर्फी आक्रमण र असहयोगको बाबजुद पनि महानगर यातायात यात्रुहरुको सेवामा समर्पित मात्रै भइरहेन, यातायात क्षेत्रका कतिपय विकृति र यसप्रतिका नकारात्मक सोचहरु चिर्न समेत सफल भयो ।
महानगर यातायात आज निजी क्षेत्रबाट संचालित सफल यातयात मात्रै बनेको छैन त्यसको सिको गरेर अन्य यातायात पनि ब्यवस्थित बनिरहेको पाइन्छ ।
यात्रुहरुले देखाएको सद्भाव र मायाका कारण महानगर यातायात प्रालिले सेवा विस्तारसमेत गर्न लागेको छ । हाल काठमाडौंको चक्रपथमा यात्रुहरुलाई सेवा दिँदै आएको महानगर यातायातले टाटाका थप ४० वटा बसहरु संचालनमा ल्याएको छ ।
नयाँ वस थपिएसँगै बसहरुको संख्या ८९ पुगेको छ । सप्रदी ट्रेडिङ प्रालिका प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठले ती बसहरुको चाबी लिँदै गर्दा हामीले थप जिम्मेवारीको महसुस गरेको बताए ।
उनले भने, 'यहाँसम्मको यात्रामा सिप्रदी ट्रेडिङ प्रालिले हामीलाई गरेको सहयोग र समन्वय पनि हाम्रो सफलताको एउटा कारण हो भन्ने हामीले ठानेका छौं । आगामी दिनमा पनि त्यस्तै साथ र सहयोगको अपेक्षा सहित आजको यस विशेष अवसरमा म सिप्रदीको टिम र कार्यकारी प्रमुख राजनबाबु श्रेष्ठलाई धन्यवाद दिन चाहन्छौं ।
एउटा कठीन यात्रामा पनि संभावना देखेर महानगर यातायातमा आवद्ध हुने ब्यवासयी मित्रहरुको आँटप्रति सम्मान ब्यक्त गर्दै, यो यात्रालाई सहज र सफल बनाउन सुरुवाती दिनदेखि नै हामीसंग सहकार्य गर्ने बैंक इन्स्योरेन्स कम्पनी, टाफिक प्रहरी र काठमाडौं तथा ललितपुर महानगरपालिकाप्रति कृतज्ञता व्यक्त गर्न चाहन्छु । महानागर यातायातको छाता मुनि रहेर अहोरात्र खटिने कर्मचारी, चालक तथा सहचालकहरु पन धन्यवादको पात्र हुनुहुन्छ ।'
श्रेष्ठले अगाडि भने, 'महानगर यातायातलाई आजको विन्दूसम्म ल्याइपुर्याउन संचार माध्यम तथा पत्रकार मित्रहरुको उल्लेख्य भूमिका छ । त्यसैले, हाम्रा हरेक गतिविधीलाई नजिकबाट नियालेर आवश्यकता अनुसार सचेत गराउने र साथ दिने सम्पूर्ण संचारकर्मीप्रति हृदयदेखि नमन गर्न चाहन्छौं ।'
महानागर यातायात प्रालिका उपाध्यक्ष सन्तोष खतिवडाले भने, 'हामी यो घोषणा गरिरहँदा खुशी छौं कि नयाँ बसहरु संचालनमा आएसंगै महानगर यातायातले चक्रपथ बाहेकका अन्य गन्तब्य र रुटहरुमा पनि सेवा विस्तार गर्ने भएको छ । आजैदेखि महानगर यातायातले काठमाडौंको चन्द्रागिरी, गोदाम र थानकोटदेखि काभ्रेको बनेपा हुँदै धुलीखेलसम्मका रुटमा यात्रुहरुलाई सेवा प्रदान गर्न शुरु गर्नेछ ।'
उनले थप जानकारी दिँदै भने, 'महानगर यातायातको यात्रा यतिमै रोकिने छैन । विश्वब्यापी रुपमा आइरहेको विद्युतीय गाडीको लहर र नेपालको सन्दर्भमा त्यसको ब्यवहारिक पक्षको बारेमा पनि हामीले अध्ययन गरिरहेका छौं । हामी निकट भविश्यमै दश वटा विद्युतीय बसहरु संचालनमा ल्याउने र एक वर्ष भित्रै ५० वटा त्यस्ता विद्युतीय बसहरु संचालन गर्ने तयारीमा छौं । जुन बसहरु काठमाडौंको वातावरण मैत्री, यात्रु मैत्री र ब्यवसायीका लागि पनि लाभदायी हुने विश्वास हामीले लिएका छौँ ।'
यससँगै महानगर यातायात प्रालिले आफूलाई 'पब्लिक लिमिटेड कम्पनीमा रूपान्तरण गर्ने महत्वपूर्ण निर्णय पनि गरेको छ ।
पब्लिक लिमिटेड कम्पनीको रूपमा अघि बढ्दै, महानगर यातायातले आफ्नो शेयर (आईपीओ) आम जनतामा जारी गर्ने तयारीसमेत गरेको छ ।
यसले सर्वसाधारणलाई कम्पनीको हिस्सेदार बन्ने अवसर प्रदान गर्दै सार्वजनिक यातायात क्षेत्रमा सहकार्य र सहभागिता विस्तार गर्नेछ ।
खतिवडाले भने, 'त्यस्तै महानगर यातायातले लामो दूरीका रूटहरूमा सेवा विस्तार गर्ने योजनासमेत अघि सारेको छ । हामी आगामी दिनमा अझ उत्कृष्ट सेवा प्रदान गर्न कटिबद्ध रहेको जानकारी गराउँदै हाम्रो सेवा विस्तारले नेपालभरका यात्रुहरूको यात्रा सहज, सुरक्षित र सुविधाजनक बन्ने विश्वास व्यक्त गर्न चाहन्छौँ ।'