ट्रम्प जलवायुबाट पछि हटे पनि विश्वव्यापी हरित ऊर्जाको दबाब जारी रहने सम्भावना - राष्ट्रसङ्घ
हाम्रा कुरा
प्रकाशित २०८१ माघ १० बिहिबार
1.4k
Shares
काठमाडौँ । पेरिस जलवायु सम्झौताबाट अमेरिकालाई फिर्ता लिने डोनाल्ड ट्रम्पको निर्णयले सम्झौताले सिर्जना गरेको नवीकरणीय ऊर्जा लगानीतर्फको विश्वव्यापी गतिलाई सुस्त पार्न नहुने संयुक्त राष्ट्रसङ्घले जनाएको छ ।
“धेरै देश हरित ऊर्जाको दिशामा अघि बढ्नेछन् भन्ने मलाई विश्वास छ”, संयुक्त राष्ट्रसङ्घको विश्व मौसम विज्ञान सङ्गठन (डब्लुएमओ) का प्रमुख सेलेस्टे साउलोले भने ।
सोमबार पदभार ग्रहण गरेपछि राष्ट्रपति ट्रम्पले जलवायु परिवर्तनलाई बढावा दिने हरितगृह ग्यास उत्सर्जन नियन्त्रण गर्न १९५ पक्षले अपनाएको सन् २०१५ पेरिस सम्झौताबाट अमेरिका फिर्ता हुने घोषणा गरे ।
आलोचकहरूले यो कदमले जीवाश्म इन्धनको प्रयोग घटाउने विश्वव्यापी सहकार्यलाई कमजोर पार्ने र अन्य देशहरूको जलवायु कार्यप्रतिको प्रतिबद्धतालाई कमजोर पार्नसक्ने चेतावनी दिएका छन् ।
तथापि डब्लुएमओ प्रमुख साउलोले एएफपी र रोयटर्ससँगको संयुक्त अन्तर्वार्तामा अमेरिकाको बहिर्गमनले हरित ऊर्जामा फाइदाजनक भइरहेको लगानीलाई रोक्न नसक्ने बताए ।
“नवीकरणीय ऊर्जा स्रोतहरूतर्फको यात्रा जारी छ र... देशहरूलाई समृद्धि ल्याउँछ”, उनले स्विस स्की रिसोर्ट शहर डाभोसमा विश्व आर्थिक मञ्चको अवसरमा भने, “त्यो परिवर्तन हुनेछैन ।”
उनले ‘मानिसहरूले वास्तवमै धेरै फाइदाजनक र साथै हरित पहल भएका लगानीहरूबाट पछि हट्ने’ अपेक्षा नगरेको बताए । “मलाई लाग्छ कि पेरिस सम्झौतासँगै सुरु भएको गति र प्रगति त्यहीँ छ”, उनले भने ।
ट्रम्पले यसअघि सन् २०१७ मा आफ्नो पहिलो कार्यकालमा संयुक्त राज्य अमेरिकालाई पेरिस सम्झौताबाट फिर्ता लिएका थिए तर सन् २०२१ मा पदभार सम्हालेपछि पूर्वराष्ट्रपति जो बाइडेन पुनः प्रवेश गराएका थिए ।
ट्रम्प सत्तामा फर्किएको पहिलो दिन सोमबार गरिएको घोषणाले सम्झौताको नियमअन्तर्गत संयुक्त राज्य अमेरिका एक वर्षभित्र औपचारिक रूपमा बाहिर निस्कने सङ्केत गरेको छ ।
सन् २०२४ मा विश्वव्यापी औसत तापक्रम रेकर्ड उचाइमा पुगेको बेला उक्त घोषणा आएको छ । जबकि विगत दुई वर्षमा विश्व औसत तापक्रमले अस्थायी रूपमा पहिलो पटक १.५ डिग्री सेल्सियसको महत्त्वपूर्ण तापक्रम सीमा पार गरेको छ ।
ट्रम्पको कदमका बारेमा सोधिएको प्रश्नमा साउलोले भने, “यो एउटा सार्वभौम देशको निर्णय हो र हामीले यसलाई स्वीकार गर्न आवश्यक छ ।”
उनका अनुसार अब डब्लुएमओको ध्यान एजेन्सीसँग ‘अमेरिकाको बलियो सहयोग र संलग्नता जारी राख्ने’ मा केन्द्रित हुनेछ ।
विशेषगरी चरम मौसमी घटनाहरूको पूर्व चेतावनी प्रणाली स्थापना गर्ने कामलाई ‘असर नपर्ने’ उनले बताए ।
चरम मौसमी घटनाहरू बढ्दै गएको अवस्थामा संयुक्त राष्ट्रसङ्घले सन् २०२७ सम्ममा पृथ्वीका प्रत्येक व्यक्तिलाई बाढी, खडेरी, गर्मीको लहर र आँधीको पूर्व चेतावनी प्रणालीले सुरक्षित गर्न चाहेको बताएको छ ।