arrow

कोशीका पूर्वमुख्यमन्त्री एवं कांग्रेसका प्रदेश सभापति थापामाथि आक्रमण, दुई जना पक्राउ

logo
हाम्रा कुरा
प्रकाशित २०८१ माघ ५ शनिबार
uddav-thapa-congress-1.gif
तस्बिर – फाइल ।

झापा । कोशी प्रदेशका पूर्वमुख्यमन्त्री एवं नेपाली कांग्रेसका प्रदेश सभापति उद्धव थापामाथि हातपात गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

शनिबार दिउँसो शिवसताक्षीस्थित दोमुखा पर्यटकीयस्थलमा सम्पन्न नेपाल प्रेस युनियन झापाको साधारणसभामा सहभागी भएर अर्जुनधारास्थित निवास फर्किंदै गर्दा उनीमाथि पूर्वपश्चिम राजमार्गको सुरुङ्गा खण्डमा हातपात भएको प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले बताए ।

उनले पूर्वमुख्यमन्त्री थापामाथि हातपात गर्ने दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान अगाडि बढाएको जानकारी दिए । 

“पूर्वमुख्यमन्त्रीज्यू कार्यक्रममा सहभागी भएर निवास फर्किंदै हुनुहुन्थ्यो, बाटोमा हातपात भएछ, ती व्यक्ति नेपाल विद्युत् प्राधिकरणको कर्मचारी भएको जानकारी आएको छ, उनीहरूलाई प्रहरीले नियन्त्रणमा लिइसकेको छ ।”  
    
पूर्वमुख्यमन्त्री थापाले आफू चढेको बा१झ ६५३ नंको गाडीलाई अवरोध गरी अपरिचित समूहद्वारा अचानक आक्रमण गरिएको बताए । 

उनले भने, “हामी निवास फर्किंदै थियौँ, सुरुङ्गामा आइसकेपछि अपरिचित समूहले हाम्रो सवारीसाधनलाई रोकेर ममाथि हातपात गर्यो ।”

आक्रमणमा थापाको आँखा र अनुहारमा सामान्य चोट लागेको छ । विर्तासिटी हस्पिटलमा उपचारपछि उनी निवास फर्किसकेका छन् ।

प्रहरीले आक्रमणस्थलमा रहेको नेपाल विद्युत् प्राधिकरणको सवारी साधनसमेत नियन्त्रणमा लिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ