arrow

शुरु भयो ‘नेपाल भ्रमण वर्ष २०२५’ [फोटोफिचर]

logo
हाम्रा कुरा
प्रकाशित २०८१ माघ ५ शनिबार
culture-22-1-18.jpg

भक्तपुर । संस्कृति, पर्यटन तथा नागरिक उड्यान मन्त्रालय, चिनियाँ राजदूतावास, भक्तपुर नगरपालिका र नेपाल पर्यटन बोर्डको संयुक्त आयोजनामा ‘नेपाल भ्रमण वर्ष २०२५’ को घोषणा तथा ‘चिनियाँ नयाँ वर्ष २०२५’ को शनिबार शुभारम्भ भएको छ ।

भक्तपुर दरबारस्क्वायमा आज आयोजित कार्यक्रममा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्का र नेपालका लागि चिनियाँ राजदूत छेन सोङले संयुक्त रूपमा भ्रमण वर्षको उद्घाटन गरेका हुन् । 

कार्यक्रममा मन्त्री खड्काले अन्तर्राष्ट्रिय पर्यटकका लागि नेपाल उत्कृष्ट गन्तव्यस्थलको रूपमा रहेको बता । उनले दुई देशबीच आर्थिक, सामाजिक र राजनीति सम्बन्ध विस्तार गर्न नेपाल सरकारको तर्फबाट सक्दो पहल गरिने बताउँदै कोभिड महामारीपश्चात् नेपालको पर्यटन क्षेत्र चलायमान बनिरहेको उल्लेख गरे ।  

अहिले शुरु गरिएको भ्रमण वर्षले नेपाल र चीनबीच पर्यटन, ऊर्जा र कृषि क्षेत्रमा आवश्यक सहकार्य गर्न सकिने विश्वास मन्त्री खड्काले व्यक्त गरे । “पर्यटन क्षेत्रको विकासमा आवश्यक पूर्वाधार निर्माण तथा स्तरोन्नतिका काम भइरहेकाका छन्”, उनले भने, “गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आउनुका साथै त्रिभुवन विमानस्थल र अन्य आन्तरिक विमानस्थलको स्तरोन्नति र विस्तार कार्य भइरहेको छ ।”

नेपालको सामाजिक, आर्थिक विकासमा पर्यटन क्षेत्रको सम्धावना र महत्वलाई ध्यानमा राख्दै नेपाल सरकारले पर्यटन क्षेत्रलाई उच्च प्राथमिकता दिएर योजनाबद्ध रूपमा काम गरिरहेको मन्त्री खड्काले जानकारी दिनुभयो । प्रदेश र स्थानीय तहले पनि पर्यटन क्षेत्रलाई नेपालको आर्थिक समृद्धिको साझा माध्यमका रूपमा प्राथमिकतामा राख्दै आएका उनले बताए । 

नेपालका लागि चिनियाँ राजदूत सङले भ्रमण वर्ष २०२५ ले दुई देशबीचको सम्बन्धलाई अझै मजबुद बनाउने बताए । नेपाल र चीनबीच आपसी सहयोग आदानप्रदान तीव्र गतिमा अगाडि बढिरहेको बताउँदै उनले नेपाल–चीनबीच युवा, शिक्षा, संस्कृति, पर्यटनलगायत क्षेत्रमा भइरहेका सहकार्यलाई सुदृढ गर्ने, मानवीय सम्बन्धलाई थप प्रगाढ बनाउने र पुस्तौँपुस्तादेखिको मित्रतालाई निरन्तरता दिने विषयमा सहमति भएको उल्लेख गरे ।

    दुई देशबीच भएका सहमति कार्यान्वयनको सिलसिलामा भ्रमण वर्ष २०२५ आयोजना गरिएको राजदूत सङले बताए । “सन् २०२५ मा नेपाल पर्यटन वर्ष प्रवर्द्धनात्मक गतिविधि आयोजना गर्न नेपाललाई चीनमा हार्दिक स्वागत गर्दै चिनियाँ पर्यटकलाई नेपाल भ्रमण गर्न प्रोत्साहित गर्नेछौँ”, उनले भने, “यसबाट नेपालको पर्यटन क्षेत्रलाई अगाडि बढाउन र दुई देशबीचको सांस्कृति आदानप्रदान एवं सहकार्यलाई थप ऊर्जा प्रदान गर्ने विश्वास व्यक्त गर्दछौँ ।”

नेपाल र चीनबीच विगतमा भएका सहमतिको कार्यान्वयन गर्नु, दुई देशबीचको पर्यटन क्षेत्रमा भएका सहकार्यलाई थप उचाइमा पुर्याउन र दुई देशबीचको मानवीय सम्बन्धलाई अझ प्रगाढ बढाउन नेपाल पर्यटन वर्ष २०२५ आयोजना गरिएको राजदूत सङको भनाइ थियो । 

नेपाल विश्वप्रसिद्ध पर्यटकीय गन्तव्यस्थल रहेको बताउँदै यहाँका उच्च हिमालय, पर्वत शृङ्खला, चितवन राष्ट्रिय निकुञ्जको प्राकृतिक सौन्दर्यता, लुम्बिनी, काठमाडौँ, जनकपुरजस्ता प्राकृतिक साथै सांस्कृतिक र ऐतिहासिक सम्पदाले प्रत्येक वर्ष विभिन्न देशका पर्यटकलाई नेपाल भ्रमण गर्न आकर्षित गर्दै आएको उनले धारणा राखे । 

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले सन् १९५५ मा नेपाल–चीनबीच दौत्य सम्बन्ध स्थापना भएको स्मरण गर्दै चीनले नेपालको पर्यटन प्रवर्द्धन गर्ने तथा चिनियाँ पर्यटकलाई नेपाल भ्रमण गर्न प्रेरित गर्ने उद्देश्यले घोषणा गरिएको ‘नेपाल भ्रमण वर्ष २०२५’ सफल पार्न सबैको सहयोग र समन्वय आवश्यक पर्ने बताए । 

नेपाल पर्यटकीय दृष्टिले अत्यन्त सम्भावना भएको देश हो भन्दै नगरप्रमुख प्रजापतिले विश्वको उच्च सगरमाथा र अन्य हिमालय पर्वत, प्राकृतिक सुन्दरता, बुद्ध जन्मभूमि लुम्बिनी र विश्व सम्पदामा सूचिकृत थुप्रै स्थल नेपालमा रहेकाले यहाँको पर्यटन प्रवर्द्धनमा सबैले सहकार्य गर्नुपर्नेमा जोड दिए । मुलुकमा रहेका पर्यटकीय स्थलको प्रभावकारी र समयसापेक्ष प्रचारप्रसार नहुँदा आशातित पर्यटक आउन नसकेका उनले बताए । 

चिनियाँ पर्यटक भक्तपुर भ्रमण गर्ने विदेशी पर्यटकमध्ये सङ्ख्यामा दोस्रोमा पर्ने बताउँदै नगरप्रमुख प्रजापतिले चिनियाँ सरकारका उच्च पदस्थ पदाधिकारीद्वारा हुने नेपाल भ्रमणमा भक्तपुरलाई पनि प्राथमिकतामा राखेर अवलोकन गर्न आग्रह गरे । 

नेपाल पर्यटन बोर्डका कार्यकारी निर्देशक दिपकराज जोशीले सरकारले सन् २०२५ लाई विशेष पर्यटन वर्षका रूपमा घोषणा गरेको भन्दै भ्रमण वर्ष सफल पार्न सबैको साथ र सहयोग आवश्यक रहेको बताए । 

कार्यक्रममा पहिलो र दोस्रो चरण गरी भक्तपुर र चिनियाँ जनजीवन झल्काउने सांस्कृतिक गीत र नाच प्रस्तुत गरिएको थियो । साथै दरबार क्षेत्रबाट टौमढीसम्म सांस्कृतिक र्‍याली आयोजना गरिएको थियो ।

visit1.jpg
visit2.jpg
visit3.jpg
visit4.jpg
visit5.jpg
visit6.jpg
visit7.jpg
visit8.jpg
visit9.jpg
visit10.jpg
visit11.jpg
visit12.jpg
visit13.jpg
visit14.jpg
visit15.jpg
visit16.jpg
visit17.jpg
visit18.jpg
visit19.jpg
visit20.jpg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ