सरकारमा कांग्रेस-एमालेबीच कुनै समस्या छैन - गृहमन्त्री लेखक [भिडियो]
वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि भएको हातपात निन्दनीय, अराजक गतिविधि गर्नेलाई कारबाही हुने
हाम्रा कुरा
प्रकाशित २०८१ माघ ३ बिहिबार
602
Shares
काठमाडौँ । गृहमन्त्री रमेश लेखकले नेपाली कांग्रेस र नेकपा एमाले मिलेर बनेको सरकारमा कुनै समस्या नरहेको दाबी गरेका छन् । बिहीबार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा निवासमा पार्टीको तर्फबाट सरकारमा सहभागी मन्त्रीहरूसँग कार्यप्रगति विवरणबारे जानकारी गराइसकेपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले कांग्रेस र एमाले सम्मिलित सरकारमा कुनै बाधा, व्यवधानहरू नरहेको जिकिर गरे ।
उनले सभापतिसँग आफ्नो मन्त्रालयका कामहरू अझ कसरी प्रभावकारी बनाउने भन्नेबारेमा छलफल भएको बताए । नेकपा एमाले र नेपाली कांग्रेसको बीचमा बनेको सात बुँदे सहमतिअनुसार अहिलेको सत्ता समीकरणलाई अघि बढाउने र राम्रो ढङ्गबाट जनतामा सेवा प्रवाह गर्ने विषयमा छलफल केन्द्रित रहेको बताए । मुलुकमा आर्थिक समृद्धि र सुशासन कायम गर्नेकुरामा केन्द्रित भएर काम गर्ने विषयमा छलफल भएको बताए ।
उनले भने, ‘नेपाली कांग्रेस र नेकपा एमाले मिलेर सरकार बनेको छ । हाम्रो बीचमा कुनै समस्या छैन । दुई दलको सम्मिलित सरकारमा कुनै बाधा, व्यवधान र अप्ठ्याराहरू छैनन् । आफ्ना आफ्ना मन्त्रालयमा थप राम्रो काम कसरी गर्ने ? भन्ने कुरामा छलफल भएको छ । सबै मान्य मन्त्रीज्युहरुबाट आएको कुरा भनेको नेकपा एमाले र नेपाली कांग्रेसको बीचमा बनेको सात बुँदे सहमतिअनुसार यो समीकरणलाई लिएर अघि बढ्ने कुरामा नै केन्द्रित भएर काम गर्ने हो, सेवा प्रवाहको क्षेत्रमा नागरिकलाई बढी भन्दा बढी सेवा, राम्रो ढङ्गबाट प्रवाह गर्ने र मुलुकमा आर्थिक समृद्धि र सुशासन कायम गर्नेकुरामा केन्द्रित भएर काम गर्ने विषयमै छलफल भएको छ । हामी दुई दलका बीचमा कुनै समस्या छैन भन्ने नै हाम्रो निष्कर्ष हो ।’
गृहमन्त्री लेखकले काठमाडौँ जिल्ला अदालत परिसरमा बुधवार अधिवक्ता दिनेश त्रिपाठीमाथि भएको हातपात निन्दनीय भएको बताए । उनले अराजक गतिविधि गर्नेलाई कारबाही हुने बताए । उनले नेपालमा व्यावसायिक स्वतन्त्रता रहेको बताए । बुधवार स्वर्णलक्ष्मी सहकारी ठगी मुद्दामा थुनछेक बहस सकिएपछि बाहिर निस्किने क्रममा अधिवक्ता त्रिपाठीमाथि हातपात भएको थियो ।
उनले भने, ‘जोसुकैले गरे पनि यो देशमा लोकतन्त्र छ । व्यावसायिक स्वतन्त्रता छ । मानिसले आफ्नो आफ्नो व्यवसाय गर्न पाउँछ । वकिलले वकालत गर्न पाउँछ, डाक्टरले डाक्टरको काम गर्न पाउँछ । बिजनेसम्यानले व्यापार गर्न पाउँछ । त्यसमा बाधा, व्यवधान गर्ने, उश्रृंखलता गर्ने, अराजकता गर्ने, कानून विपरीत काम गर्ने, जो सुकैलाई पनि दण्डित गरिन्छ । जहाँसम्म दिनेश त्रिपाठीमाथि घटना भएको छ । यो अत्यन्त निन्दनीय काम हो । अत्यन्त गलत काम भएको छ । यस्तो अराजकता गर्ने जो सुकै पार्टीका मानिस भए पनि कारबाही हुन्छ ।’