काठमाडौँ । काठमाडौँ जिल्ला अदालत बार एशोसिएशनले वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि भएको आक्रमणको घोर भर्सना गरेको छ ।
बारले ‘आफ्नो कानूनी कर्तव्य गर्दाको अवस्थामा कानून व्यवसायी उपर अदालत परिसरमा भएको आक्रमणको घोर भर्सना गर्दै दोषी उपर कडा कारबाहीको माग गर्दछौँ’ भनेको छ ।
बारले प्रेस विज्ञप्ति जारी गर्दै भनेको छ, ‘काठमाडौँ जिल्ला अदालतमा चलिरहेको ‘संगठित रुपमा ठगी गरेको’ मुद्दामा थुनछेक बहस गरी अदालतबाट निस्कने क्रममा जाहेरवालाहरुको तर्फबाट बहस पैरवी गरेको विषयलाई लिएर अदालतको गेटमा उपस्थित भएका केही उच्श्रृंखल व्यक्तिहरुले वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीज्यूलाई हातपात, लछारपछार एवं कुटपिट गर्ने जस्ता अमानवीय व्यवहार एवं कार्य भएको घटनाप्रति यस बार एशोसिएशनको गम्भीर ध्यानाकर्षण भएको छ ।’
‘पक्षको तर्फबाट बहस पैरवी गरेको विषयमा कानून व्यवसायीमाथि आक्रमण गर्ने कार्यबाट स्वतन्त्र, सक्षम र निर्भिक न्यापालिकामाथि आक्रमण भएको यस बार एशोसिएशनको ठम्याइ हो ।’
बारले अवान्छित गतिविधि गर्ने व्यक्तिहरुलाई अविलम्ब पक्राउ गरी प्रचलित कानून बमोजिम कारबाही गर्न सम्बन्धित निकाय समक्ष माग गरेको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेमाथि बहस भइरहँदा उनको विपक्षमा बहस गरेको त्रिपाठीमाथि रास्वपाका कार्यकर्ताले आक्रमण गरेका हुन् ।
रविलाई अदालतले ६० लाख रुपैयाँ धरौटी लिएर छाडेको छ । यसअघि गत बिहीबार कास्की जिल्ला अदालतले ६५ लाख धरौटी लिएर छाडेको थियो ।
त्रिपाठी भन्छन् – सुनियोजित प्लान हो
त्रिपाठी भने आफूलाई रास्वपाका कार्यकर्ताले नै आक्रमण गरेको बताएका छन् । उनले भने, ‘पोखरामा जाँदाखेरी नै कारबाही गर्छु भनेका थिए । मार्छु भनेका थिए ।’
रास्वपाले आफ्ना कार्यकर्ताले आक्रमण नगरेको र गरेको भए कारबाही गर्ने बताएको प्रसङ्गमा त्रिपाठीले भने, ‘रास्वपाको कार्यकर्ता नभएको भए किन जान्थ्यो त्यहाँ ? यिनीहरुको सुनियोजित प्लान हो ।’
कसलाई कारबाही गर्छ रास्वपाले ?
राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) ले वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि भएको हातपातमा आफ्ना पार्टी सदस्यको संलग्नता भएमा कारबाही गर्ने बताएको छ ।
आज काठमाडौँ जिल्ला अदालत परिसरभित्र सहकारी बचत अपचलन विषयको बहस भएपश्चात अदातलबाट निस्किने क्रममा त्रिपाठीमाथि हातपात भएको थियो । उक्त घटनाप्रति ध्यानाकर्षण भएको जनाउँदै रास्वपाले प्रेस विज्ञप्ति जारी गरेको छ ।
रास्वपाका कार्यबाहक प्रवक्ता मनिष झाले राजनीतिक दलको लागि यस किसिमको व्यवहार स्वीकार्य नभएको भन्दै यस विषयमा पार्टीको अनुशासन विभागको ध्यानार्कषण भएको बताएका छन् ।
‘यस विषयमा पार्टीको अनुशासन विभागको ध्यानार्कषण भएको छ र सो घटनामा यदि दलको कुनै पनि सदस्यको संलग्नता भेटिएका आवश्यक कारबाही हुने छ’, उनले भने ।