arrow

प्रयागराज महाकुम्भमा दुई दिनमै गरे पाँच करोड १५ लाखले स्नान 

logo
हाम्रा कुरा
प्रकाशित २०८१ माघ १ मंगलबार
prayagraj-mahakumbha-1-14-2.jpg
तस्बिर – हेलिकप्टरबाट पुष्पवृष्टि गरिँदै ।

काठमाडौँ । भारतको प्रयागराज (उत्तर प्रदेशको पूर्वी भागमा अवस्थित तीर्थस्थलहरुको राजा भनेर चिनिने धर्मराज) मा हिन्दू धर्मावलम्बीहरूको सबैभन्दा ठूलो महाकुम्भ जारी रहेको छ ।

मंगलबार दोस्रो दिन साढे तीन करोडले स्नान गरेका छन् । हेलिकप्टरबाट पुष्पवृष्टि गरेर श्रद्धालुको स्वागतसमेत गरिएको थियो । 

शाही स्नान बिहान ६ बजे शुरु भई साँझ ६ बजे सकिएको थियो । १३ अखाडामा अलग अलग लाइनमा रहेर सन्तहरुले स्नान गरेका हुन् । आठदेखि १० किलोमिटरसम्म श्रद्धालुको भीड रहेको थियो । ५० भन्दा बढी देशका श्रद्धालु संगममा रहेका छन् । 

पहिलो दिन १ करोड ६५ लाखले स्नान गरेका थिए । दुई दिनमा गरी ५ करोड १५ लाखले स्नान गरिसकेका छन् । 

पहिलो पटक शाही स्नानका ठाउँमा अमृत स्नान शब्दको प्रयोग भएको छ । 

स्नानपछि प्रयागराजबाट श्रद्धालुहरु फर्कन थालेका छन् । रेलवे स्टेशन र बस पार्कमा भीड बढेको छ । खुट्टा राख्ने ठाउँसमेत नभएको भारतीय सञ्चारमाध्यमहरुले बताएका छन् । 

मुख्यमन्त्री योगी आदित्यनाथका सल्लाहकार अवनीशकुमार अवस्थीका अनुसार सन् २०१९ मा प्रधानमन्त्री नरेन्द्र मोदीको मार्गदर्शन र मुख्यमन्त्री योगीको व्यवस्थाका आधारमा २५ करोड भन्दा बढीले सहभागीता जनाएका थिए । 

यसपटक पलपल योगीले निगरानी गरिरहेका छन् । अप्रिय घटना नहोस् भने सुरक्षा निकाय तम्तयार रहेको छ । 

यो हिन्दू कहाकुम्भमा बौद्धमार्गी त स्वभावैले गएका छन् नै मुसलमान र क्रिष्टियनसमेत धर्म परिवर्तन गरेरै सहभागी भएका छन् । 

अवस्थीले यसपालि डेढ महिने महाकुम्भमा ५० करोड भन्दा बढीले सहभागीता जनाउने दाबी गरे ।

पुस पूर्णिमाबाट शुरु भएर मेला आगामी शिवरात्रीको दिनसम्म लाग्नेछ । हरेक १२ वर्षमा आयोजना हुने कुम्भमेला यसपालि प्रयागराजमा सबैभन्दा ठूलो महाकुम्भ आयोजना भइरहेको हो । 

यो महाकुम्भ मेला १२४ वर्षपछि भइरहेको हो । यो अहिलेसम्मकै ठूलो मेला हुनेछ ।

हिन्दू धार्मिक तथा पौराणिक ग्रन्थहरूमा कुम्भ मेलालाई ‘अमर मेला’ भनिएको छ । त्यसैले कुम्भमेलामा लाखौं भक्तजन आफ्नो विवेक शुद्ध गर्न यस पवित्र स्थानमा स्नान गर्न आउँछन् । 

महाकुम्भमा विश्वभरका साधु तथा भक्तजनहरुले आस्थाको डुबकी लिने गर्दछन् । कुम्भ मेलामा शाही स्नानको विशेष महत्व हुन्छ । 

संगममा प्रत्येक घण्टा दुई लाखले स्नान गर्नेसमेत बताइएको छ । आजबाटै श्रद्धालुले ४५ दिनको कल्पवास शुरु गर्ने भएका छन् । 

करिब १२ किलोमिटर क्षेत्रमा स्नान घाट बनाइएको छ । नेपालबाटसमेत हजारौँ तीर्थयात्रीहरु प्रयागराज जाने भएका छन् । कोही भने प्रयागराजका लागि गइसकेका छन् । 

कसैले समय मिलाएर टिकटसमेत लिइसकेको पाइएको छ । 

कसरी पुग्ने महाकुम्भमा ? 
महाकुम्भमा पुग्नका लागि आयोजकले विभिन्न सुझाव दिएको छ । महाकुम्भमा सडकमार्ग, रेल मार्ग र हवाई मार्गमार्फत पुग्न सकिने उल्लेख गरिएको छ । 

कुम्भमा पुग्ने ८३ प्रतिशत सडकमार्गमार्फत आउने आयोजकले बताएको छ । यसकम सरकारी बस र निजी सवारी पनि सामेल रहेका छन् । सहरभित्र ५० शटल बस चल्ने भएको छ । 

त्यस्तै करिब १५ प्रतिशत मानिस रेलमार्फत महाकुम्भमा पुग्नेछन् । यसका लागि नियमित चल्ने रेलका अतिरिक्त ३हजार भन्दा बढी मेला विशेष रेल चल्नेछन् । जसले १३ हजार फेरो लगाउने पनि बताइएको छ । 

बाँकी २ प्रतिशत दर्शनार्थी हवाई यात्रामार्फत पुग्ने महाकुम्भ अधिकारीको अनुमान रहेको छ । 

पार्किङका लागि विभिन्न सात ओटा मार्ग जस्तै जैनपुर, वाराणसी, मिर्जापुर, रिवा–चित्रकूट, कानपुर, लखनऊ, अयोध्या–प्रतापगढ रहेका छन् । 

२५ सहरबाट प्रयागराजमा हवाई उडान हुने भएको छ । हाल ९ सेवा भइरहेकामा अब डेढ महिनाका लागि २५ सहर जोडिने भएका छन् । 

यसअघि दिनमा मात्र उडान भएकामा यो अवधिमा रातिमा पनि उडान हुने भएको छ । 

हवाइ यात्राको सोच भए कम्तीमा १५ दिन अगाडि नै टिकट लिनसमेत आयोजकले आग्रह गरेको छ । 

बस लिएर जानेका लागि १० किलोमिटर अगाडि नै रोकिने छन् । 

कहाँ रोकिने यात्रु ?
दर्शनार्थी रोक्ने स्थान पनि तोकिएको छ । जस्तो कि मेला क्षेत्रमा सामान्य टेन्टभित्र रहन सकिने छ । त्यहाँ एक लाख दर्शनार्थी अट्ने छन् ।

लग्जरी टेन्टमा २ हजारमात्र दर्शनार्थी अट्ने छन् । स्वयंसेवी संस्थाले ४० हजारलाई राख्ने क्षमता बनाएका छन् । 

मेला क्षेत्रमा आश्रयस्थली रहेका छन् । जसमा २५० बेडका सय आश्रयी स्थल रहने छन् । 

नौ रेल स्टेशनमा एक लाख दर्शनार्थी रहन सक्ने बताइएको छ । त्यस्तै अरेल क्षेत्रमा रहेको टेन्ट र झुन्डी क्षेत्रको टेन्टमा समान २ हजार दर्शनार्थी रहन सक्नेछन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ