काठमाडौँ । नेपालकै पहिलो डिजिटल भुक्तानी सेवा प्रदायक कम्पनीको रुपमा स्थापित इसेवा लिमिटेडले आर्थिक वर्ष २०८०–८१ को आफ्नो १२ औँ वार्षिक साधारण सभा सोमबार गरेको छ ।
उक्त साधारण सभामा सञ्चालक समितिको वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्र्ने, आ.व. २०८०–८१ को लेखापरीक्षकको प्रतिवेदन सहितको वासलात, नाफा नोक्सान, हिसाब तथा नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणहरुमाथि छलफल गरी पारित गर्ने र नगद लाभांश वितरण गर्ने सम्बन्धमा समेत छलफल भएको थियो ।
मोबाइल टपअपबाट सेवा शुरु गरेको इसेवाले हाल इन्टरनेट, बिजुली तथा खानेपानीको महशुल भुक्तानी, रिचार्ज, हवाइजहाज, बसको टिकट, स्कूल कलेजको शुल्क, होटल बुकिङ, शेयर तथा डिम्याट खाता नवीकरण, ब्लुबुक नवीकरण, इन्स्योेरेन्स लगायतका दुई हजार भन्दा बढी सेवाहरूको शुल्क भुक्तानीसँगै इजी लोन, इ स्पिकर, मर्चेन्ट लिङक जस्ता सुविधाहरुको पनि थालनी गरेको छ ।
इसेवामा हाल ४९ वटा बैंक तथा वित्तीय संस्था साझेदार रहेका कम्पनीले जनाएको छ । हालको समयमा १ करोड ३० लाख भन्दा बढी इसेवा प्रयोगकर्ता र करिब २ लाख ८० हजार एजेन्टहरु रहेको इसेवाले जनाएको छ ।
उक्त कार्यक्रममा इसेवाका अध्यक्ष पर्शुराम कुँवर क्षेत्री, कार्यकारी प्रमुख अधिकृत जगदीश खड्का, तथा संचालक समितिका सम्पूर्ण सदस्यहरुले उपस्थिति जनाएका थिए ।
उक्त कार्यक्रममा बोल्दै इसेवाका कार्यकारी प्रमुख खड्काले नेपालमा नै पहिलो पटक प्रयोगकर्ताद्वारा निर्देशन अनुसार सीमित विद्युतीय कारोबार गर्न सक्ने एआई च्याटबोट इभीएका साथै एजेन्ट लोन दिने सेवाबाट शुरु भएको नयाँ आयामबारे बताए ।
आगामी दिनमा बचत र लगानी जस्ता नवीनतम सेवाहरु पनि ल्याएर आफ्ना ग्राहकको हित र सहज वित्तीय व्यवस्थापनको लागि कार्यरत रहने पनि प्रमुख कार्यकारी अधिकृत खड्काले प्रष्ट पारेका छन् ।