सांसदहरूको प्रश्न - नेपाली राहदानी विश्वमै कमजोर हुनुमा दोषी को हो ? [भिडियो]
राहदानीको स्तर कमजोर हुँदा देशको वैश्विक छवि र इज्जतमाथि प्रश्न
हाम्रा कुरा
प्रकाशित २०८१ पुष २९ सोमबार
545
Shares
काठमाडौँ । नेपाली राहदानी (पासपोर्ट) विश्वमा सबैभन्दा कमजोर भएको विषयमा सांसदहरूले परराष्ट्र मन्त्रालयको ध्यानाकर्षण गराएका छन्। सोमबार प्रतिनिधि सभाअन्तर्गको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति बैठकमा सांसदहरूले नेपाली राहदानीको स्तर कमजोर हुँदा देशको वैश्विक छवि र इज्जतमाथि प्रश्न उठेको बताए ।
बैठकमा नेकपा (एमाले)की सचेतक सुनिता बरालले विभिन्न प्रतिवेदनहरूमा नेपाली राहदानीको र्याङ्किङ दिनानुदिन घटिरहेको बताइन् । उनले नेपालको राहदानीको पोजिसन कमजोर स्थितिमा रहेको उल्लेख गर्दै यसको सुधारका सरकारको ध्यान गएको छ कि छैन भन्दै पश्न समेत गरिन् । उनले फ्री भिसा फ्री टिकेटको व्यवस्था कार्यान्वयनको स्थितिबारे समेत परराष्ट्रमन्त्री आरजू राणा देउवासँग जवाफ माग गरिन्।
उनले भनिन्,‘हामीले विभिन्न रिपोर्टहरू हेरिरहेका छौँ । त्यसमा हाम्रो पासपोर्टको र्याङ्किङ दिनानुदिन घटिरहेको पाइरहेका छौँ । हाम्रो राहदानी कमजोर पोजिसनमा छ । यसलाई हामीले डिप्लोमेटिकली नेगोसिएसन या पहलकदमी गर्न सकिन्छ कि सकिँदैन ? मन्त्रीज्यूले यस विषयमा ध्यान दिनुभएको छ कि छैन ? अर्को कुरा हामीले केही देशको भिसा फ्री पाउने र त्यो अनअराएबल हुने व्यवस्था अहिले पनि केही देशहरूमा छ । त्यसमा हामीले अलि बढी आवतजावत हुने सिंगापुर बाहेक त्यस्तो रहेनछ । हामीले नयाँ नाम सुन्ने खालका देशहरूसँग मात्रै यस्तो सम्झौता गरिएको छ । नेपालबाट वैदेशिक रोजगारीमा जाने नेपालीहरूको पारिश्रमिकको एउटा न्यूनतम मापदण्ड नभएको र हामीले आवश्यक फलोअप नगरेका कारणले जति पनि कामदारहरूले दुःख पाइरहेको अवस्था छ । अन्य विकसित मुलुकहरूले आवश्यक मापदण्ड बनाएर पठाउने र कार्यान्वयन नभएको अवस्थामा फिर्ता बोलाउने अभ्यास छ । ’
नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले राहदानी कमजोर हुनुको मुख्य कारण सम्झौता अनुसार काम नहुनु रहेको बताए । उनले सम्झौताअनुसार गुणस्तरीय राहदानी नदिए पनि सेटिङ मिलाए उन्मुक्ति पाइन्छ भन्ने मानसिकता हाबी भएको बताए । सम्झौताअनुसार राहदानी नछाप्ने कम्पनीलाई कानूनी दायरामा ल्याउनुपर्नेमा उनको जोड छ । उनले सरकारले एकै पटक धेरै पासपोर्ट छाप्न लागेको भन्दै आपत्ति जनाए । उनले वैदेशिक रोजगारीमा जाने नेपालीको सङ्ख्या बढेसँगै मुलुकमा सामाजिक अपराधका घट्नाहरु बढ्न थालेको बताए । उनले युवाहरू विदेश पलायन हुँदा समाजमा वृद्ध वृद्धाको स्याहार गर्न तथा जन्ती र मलामी जाने समेत मान्छे नभएको प्रति चिन्ता व्यक्त गरे ।
उनले भने, ‘राहदानी कमजोर भएको जुन कुरा आयो त्यसमा सम्झौता अनुसार काम गरेन भने सजाय कडा हुनुपर्यो । गुणस्तर नभएको पासपोर्ट दिए पनि म सेटिङ मिलाएर मुक्त हुन्छु भन्ने मानसिकता भयो भने मान्छे डराउँदैन । त्यस कारण जे कन्ट्र्याक्ट भएको हो त्यही अनुसार नदिनेलाई त सजाय हुनुपर्यो नि । चोरले नदेख्ने गरी चोर्छ । डाँकाले त बताएरै ठगेर जान्छ । त्यस कारण कसैलाई डाँका हाल्न दिनु भएन । यसमा हामीले शङ्का गर्नै पर्दैन । अर्को कुरा हामीले यति धेरै पासपोर्ट छाप्ने कुरा आएको छ । त्यसमा जम्मै नेपालीहरूलाई विदेश पठाउँदा नेपाली सामाभित्रै विकृति बढ्यो, वृद्ध मान्छेलाई पानी खुवाउने मान्छे भएन, मलामी भएन । हाम्रो झन्डै पाँच सय कलेजहरू सुक्न लाग्यो भनेपछि हाम्रो काम चाहिँ मान्छे विदेश पठाउने अनि देश लथालिङ्ग पार्ने ? यो चाहिँ ठिक भएन । खेतीपातीको विकास नहुँदा विदेशबाट खर्बौँ रुपैयाँका अन्नबाली आयात गर्नुपरेको छ । यो वर्ष आठ लाख टन धान नेपाललाई नपुग्ने भनेर आएको छ । हाम्रो जग्गाजमिन बाँझो छ ।’
नेकपा (एमाले)सा सांसद दामोदर पौडेल वैरागीले इजरायल–हमास युद्धमा बेपत्ता भएको नेपाली विद्यार्थी विपिन जोशीको रिहाइको लागि पहलकदमी गर्न माग गरे । उनको पछिल्लो जोशीको रिहाइको लागि कूटनीतिक पहल हुन छोडेकोप्रति परराष्ट्रमन्त्रीको ध्यानाकर्षण गराए ।
नेपाली कांग्रेसका सांसद योगेश गौचन थकालीले प्रधानमन्त्रीले चीन भ्रमणमा गरेको सम्झौता अनुसार सरकारले कस्तो ऋण लिने तयारी गरेको छ ? भन्दै प्रश्न गरे । उनले बाह्य एवं आन्तरिक ऋण परिचालनमा सरकार गम्भीर हुन आवश्यक रहेको बताए । उनले ऋण लिँदा परिणाममुखी परियोजना निर्माणका लागि मात्र लिनुपर्ने उनको धारणा छ ।