प्रयागराज महाकुम्भमा नेपालबाटै हजारौँ दर्शनार्थी जाने, कसरी पुग्ने महाकुम्भमा ?
१४४ वर्षपछि हुन लागेको अहिलेसम्मकै ठूलो मेला, डेढ महिना चल्ने, चालीस करोडले दर्शन गर्ने दाबी
हाम्रा कुरा
प्रकाशित २०८१ पुष २८ आइतबार
1k
Shares
काठमाडौँ । भारतको प्रयागराज (उत्तर प्रदेशको पूर्वी भागमा अवस्थित तीर्थस्थलहरुको राजा भनेर चिनिने धर्मराज) मा हिन्दू धर्मावलम्बीहरूको सबैभन्दा ठूलो मेला सोमबारदेखि महाकुम्भ लाग्दैछ । हरेक १२ वर्षमा आयोजना हुने कुम्भमेला यसपालि प्रयागराजमा सबैभन्दा ठूलो महाकुम्भ आयोजना हुँदैछ ।
यो महाकुम्भ मेला भने १४४ वर्ष पछि हुन लागेको हो । महाकुम्भ सोमबार २९ पुसबाट शुरु हुँदैछ । आगामी ४५ दिनसम्म चल्ने महाकुम्भ पौष पूर्णिमाको दिनबाट शुरु भई महाशिवरात्रिको दिनमा समापन हुनेछ । यो अहिलेसम्मकै ठूलो मेला हुनेछ ।
यसको सम्पूर्ण तयारी पूरा भएको आयोजकले जनाएको छ । हिन्दू धार्मिक तथा पौराणिक ग्रन्थहरूमा कुम्भ मेलालाई ‘अमर मेला’ भनिएको छ। त्यसैले कुम्भमेलामा लाखौं भक्तजन आफ्नो विवेक शुद्ध गर्न यस पवित्र स्थानमा स्नान गर्न आउँछन् ।
महाकुम्भमा विश्वभरका साधु तथा भक्तजनहरुले आस्थाको डुबकी लिने गर्दछन् । कुम्भ मेलामा शाही स्नानको विशेष महत्व हुन्छ ।
नेपालबाटसमेत हजारौँ तीर्थयात्रीहरु प्रयागराज जाने भएका छन् । कोही भने प्रयागराजका लागि गइसकेका छन् । कसैले समय मिलाएर टिकटसमेत लिइसकेको पाइएको छ । आयोजकले ४० करोड दर्शनार्थी यसपालि प्रयागराजमा पुग्ने दाबीसमेत गरेको छ ।
सन् २०१९ मा भएको अर्धकुम्भ मेलामै २४ करोड दर्शनार्थी पुगेको आधारमा आयोजकले यसपालि ४० करोड पुग्ने दाबी गरेको हो ।
कसरी पुग्ने महाकुम्भमा ?
महाकुम्भमा पुग्नका लागि आयोजकले विभिन्न सुझाव दिएको छ । महाकुम्भमा सडकमार्ग, रेल मार्ग र हवाई मार्गमार्फत पुग्न सकिने उल्लेख गरिएको छ ।
कुम्भमा पुग्ने ८३ प्रतिशत सडकमार्गमार्फत आउने आयोजकले बताएको छ । यसकम सरकारी बस र निजी सवारी पनि सामेल रहेका छन् । सहरभित्र ५० शटल बस चल्ने भएको छ ।
त्यस्तै करिब १५ प्रतिशत मानिस रेलमार्फत महाकुम्भमा पुग्नेछन् । यसका लागि नियमित चल्ने रेलका अतिरिक्त ३हजार भन्दा बढी मेला विशेष रेल चल्नेछन् । जसले १३ हजार फेरो लगाउने पनि बताइएको छ ।
बाँकी २ प्रतिशत दर्शनार्थी हवाई यात्रामार्फत पुग्ने महाकुम्भ अधिकारीको अनुमान रहेको छ ।
पार्किङका लागि विभिन्न सात ओटा मार्ग जस्तै जैनपुर, वाराणसी, मिर्जापुर, रिवा–चित्रकूट, कानपुर, लखनऊ, अयोध्या–प्रतापगढ रहेका छन् ।
२५ सहरबाट प्रयागराजमा हवाई उडान हुने भएको छ । हाल ९ सेवा भइरहेकामा अब डेढ महिनाका लागि २५ सहर जोडिने भएका छन् ।
यसअघि दिनमा मात्र उडान भएकामा यो अवधिमा रातिमा पनि उडान हुने भएको छ ।
हवाइ यात्राको सोच भए कम्तीमा १५ दिन अगाडि नै टिकट लिनसमेत आयोजकले आग्रह गरेको छ ।
बस लिएर जानेका लागि १० किलोमिटर अगाडि नै रोकिने छन् ।
कहाँ रोकिने यात्रु ?
दर्शनार्थी रोक्ने स्थान पनि तोकिएको छ । जस्तो कि मेला क्षेत्रमा सामान्य टेन्टभित्र रहन सकिने छ । त्यहाँ एक लाख दर्शनार्थी अट्ने छन् ।
लग्जरी टेन्टमा २ हजारमात्र दर्शनार्थी अट्ने छन् । स्वयंसेवी संस्थाले ४० हजारलाई राख्ने क्षमता बनाएका छन् ।
मेला क्षेत्रमा आश्रयस्थली रहेका छन् । जसमा २५० बेडका सय आश्रयी स्थल रहने छन् ।
नौ रेल स्टेशनमा एक लाख दर्शनार्थी रहन सक्ने बताइएको छ । त्यस्तै अरेल क्षेत्रमा रहेको टेन्ट र झुन्डी क्षेत्रको टेन्टमा समान २ हजार दर्शनार्थी रहन सक्नेछन् ।
महाकुम्भ सम्बन्धित केही रोचक पौराणिक मान्यता र तथ्यहरूः
महाकुम्भको इतिहास निकै पुरानो छ । केही ग्रन्थहरुका अनुसार सत्ययुगमा पहिलो महाकुम्भ मेला आयोजना भएको मानिन्छ । जसको सुरुवात शंकराचार्यले गरेका थिए । कतिपयले समुद्र मन्थनको बगैँचाबाट कुम्भ मेला सुरु भएको विश्वास गर्छन् । यस बारे विस्तृत जानकारी उपलब्ध छैन। विद्वानहरुका अनुसार कुम्भको परम्परा हजारौं वर्ष पुरानो भने हो, यसमा अब कुनै दुइ मत रहेको छैन ।
महाकुम्भको ऐतिहासिक उल्लेख पुरातन शिलालेखहरूमा पनि पाइन्छ। ईसा पूर्व ६०० मा बौद्ध लेखहरूमा नदीमा मेलाहरू लाग्ने गरेको र भगवानमा लिन भएको प्रमाणहरू उल्लेख छन् ।
समुद्र मन्थनको समयमा देवता र दानवहरू अमृत पाउनका लागि लडिरहेका थिए, सोही क्रममा भगवान इन्द्रका छोरा जयन्त अमृत भाँडा लिएर भागिदिए, त्यसपछि ती दानवहरू पनि कलश लिन जयन्तको पछि लागे। यस समयमा राक्षस र देवताहरू बीच भयानक युद्ध भयो ।
जब जयन्त अमृत कलश लिएर भागे, अमृत कलशका केही थोपा भने चार ठाउँमा खसे, जहाँ आज महाकुम्भ आयोजना गरिन्छ। त्यसबेलादेखि, प्रयागराज, उज्जैन, नासिक, हरिद्वारमा कुम्भ मेला आयोजना गरिन थालिएको हो ।