arrow

खालिदा जिया गम्भीर बिमार, विशेष एयर एम्बुलेन्समा लण्डन लगियो

logo
हाम्रा कुरा
प्रकाशित २०८१ पुष २४ बुधबार
khaleda-zia-ex-pm.jpg
तस्बिर – फाइल ।

ढाका । बङ्गलादेश नेशनलिस्ट पार्टी (बीएनपी) की अध्यक्ष खालिदा जिया उपचारका लागि मङ्गलबार साँझ लण्डन गएकी छिन् । ढाका ट्रिब्युनका अनुसार राति ११ः४६ बजे उनी हजरत शाहजलाल अन्तर्राष्ट्रिय विमानस्थलबाट कतारका अमिरले पठाएको विशेष रोयल एयर एम्बुलेन्समा लण्डन प्रस्थान गरेकी हुन् । 

राति ८ बजे आफ्नो गुलशन निवासबाट उपचारका लागि लण्डनतर्फ निस्किएकी ७९ वर्षीया जिया कलेजो सिरोसिस, मुटुरोग, मृगौलालगायत विभिन्न स्वास्थ्य समस्याबाट पीडित छिन् । उनलाई उपचारका लागि लण्डन क्लिनिकमा भर्ना गरिने बताइएको छ ।

जियाका साथमा उनका चिकित्सक, परिवारका सदस्य र सहयोगीहरू छन् भने कतार सरकारका डाक्टरहरूको टोली पनि विमानमा सवार भएको थियो । 

जियालाई लण्डन लैजाने तयारी भएको सूचनासँगै उनी प्रस्थान गर्नुअघि ठूलो सङ्ख्यामा बीएनपी नेता र कार्यकर्ताहरू गुलशनस्थित जियाको निवास फिरोजा नजिकै भेला भएका थिए। 

लण्डन भ्रमणलाई बीएनपीका वरिष्ठ नेताहरूले राजनीतिक यात्राभन्दा पनि चिकित्सकीय भ्रमणको रूपमा व्याख्या गरेका छन्। खालिदा जियाले राम्रो स्वास्थ्य सेवा प्राप्त गर्नु र लामो समयपछि आफ्नो परिवारसँग पुनर्मिलन गर्नु भ्रमणको मुख्य उद्देश्य रहेको उनीहरूले बताए । 

ढाका ट्रिब्यूनका अनुसार बीएनपीका स्थायी समिति सदस्य तथा वरिष्ठ नेता इकबाल हसन महमुदले बीएनपी नेतृ तथा बङ्गलादेशका पूर्वप्रधानमन्त्री खालिदा जिया आफ्नो उपचारपछि स्वस्थ्य भई फर्कने र पार्टी र देशको नेतृत्व गरिरहन तयार हुने आशा व्यक्त गरेका छन् । 

नेता महमुदले जियाको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै भने, “उहाँ हामीकहाँ स्वस्थ्य भएर फर्कनुहुनेछ पार्टीको नेतृत्व सम्हाल्नुहुनेछ । हामी सबै उहाँको सशुस्वास्थ्यको प्रार्थना गर्दछौँ ।”



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ