राज्य व्यवस्था समितिमा ९२ उजुरी, अध्ययन गर्न उपसमिति गठन गरिने [भिडियो]
हाम्रा कुरा
प्रकाशित २०८१ पुष २२ सोमबार
595
Shares
काठमाडौँ । प्रतिनिधि सभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिमा ९२ वटा उजुरी परेका छन् । सोमबार सिंहदरबारमा बसेको समिति बैठकमा सभापति रामहरी खतिवडाले ९२ वट उजुरी परेकोमा ५८ वटा उजुरीहरू दर्ता गरिएको जानकारी दिए ।
उनले बाँकी ३४ वटा उजुरीहरू अध्ययनका क्रममा रहेको जानकारी दिए । उजुरीहरूको बारेमा अध्ययन गर्नको लागि उपसमिति गठन गरेर अघि बढ्ने सभापति खतिवडाको भनाइ छ । उनले कतिपय उजुरीहरू समितिको कार्यक्षेत्रमा नपर्ने भएका कारण समितिको नियमावलीअनुसार सर्वसाधारणबाट प्राप्त उजुरीका सन्दर्भमा सुनुवाइ गर्ने बताए ।
उनले भने, ‘अहिलेसम्म ५८ वटा उजुरीहरू सचिवालयमा दर्ता भएका छन् । कतिपय बेनामेहरु, चिठीबाट आएका अन्य ३४ वटा गरी ९२ वटा उजुरीहरू समितिमा पुगेका छन् । उजुरीहरूको सम्बन्धमा के गर्ने भनेर हामीले एउटा उपसमिति बनाउँछौँ । कतिपय उजुरीहरू हाम्रो कार्यक्षेत्रभित्र पर्छन् कतिपय पर्दैनन् । हाम्रो समितिको नियमावलीमा सर्वसाधारणबाट प्राप्त उजुरीहरूको सुनुवाइ गर्ने भनेर उल्लेख गरिएको रहेछ । अब हामी यी उजुरीको बारेमा अध्ययन गर्नको लागि एउटा उपसमिति गठन गर्छौँ ।’
बैठकमा अधिकांश सांसदहरूले समितिमा प्राप्त उजुरीहरूको अध्ययन उपसमिति गठन गर्नुपर्ने धारणा राखे । उपसमितिको प्रतिवेदनको आधारमा कार्यक्षेत्रमा पर्ने उजुरीहरूमा सुनुवाइ गर्नुपर्ने बताए ।