विधायन तथा प्रदेश मामिला समितिद्वारा सुझाव सङ्कलन तथा अन्तरक्रिया
दीपेन्द्र बस्नेत,
प्रकाशित २०८१ पुष २२ सोमबार
673
Shares
कञ्चनपुर । कञ्चनपुरको बेलौरी नगरपालिकाको सभाहलमा सुदूर पश्चिम विधायन तथा प्रदेश मामिला समिति द्वारा सुदूरपश्चिम प्रदेश स्तरीय सुझाव सङ्कलन कार्यक्रम सम्पन्न गरिएको छ ।
सुदूरपश्चिम प्रदेश विधायन तथा प्रदेश मामिला समितिले आयोजना गरेको उक्त कार्यक्रममा प्रदेश भरिका ४० वटा स्थानीय तह पालिका प्रमुख, गाउँपालिका अध्यक्ष लगायत जिल्ला समन्वय समितिका प्रमुखहरूको उपस्थितिमा आइतबार सुझाव सङ्कलन तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रमको सभापति प्रदेश मामिला तथा विधायन समितिका अध्यक्ष दिवान सिंह विष्ट, प्रमुख अतिथि सुदूरपश्चिम प्रदेश सरकारका सभामुख भीम बहादुर भण्डारी लगायत प्रदेश मामिला तथा विधायन समितिका सदस्य लगायत स्थानीय तहका प्रमुख, उप प्रमुखको सहभागिता रहेको थियो।
प्रदेश राजधानीमा आयोजना हुन पर्ने उक्त राय सल्लाह सुझाव सङ्कलन कार्यक्रमलाई समितिका सभापति विष्टले कञ्चनपुरको दक्षिणी क्षेत्रको बेलौरीमा आयोजना गरे पछि गणतान्त्रिक नेपालको उपलब्धिका रूपमा स्थानीयले अर्थ्याएका छन् ।
कार्यक्रममा सहभागी स्थानीय तहका प्रमुख,उपप्रमुखहरूले प्रदेश मामिला तथा विधायन समिति विधेयकमा समावेश गर्नुपर्ने आवश्यक राय सहितको सुझावहरू राखेका थिए।
कार्यक्रममा बोल्दै प्रदेश मामिला तथा विधायन समितिका सभापति दिवान सिंह विष्टले अन्तरक्रिया कार्यक्रमबाट प्राप्त भएका सुझाव विधायन समितिमा बृहत् छलफल गरी माघ १५ गते भित्र स्थानीय सेवा ऐन प्रदेश सभामा पेश गर्ने बताउँदै कर्मचारीहरूको मूल्य र योगदानलाई उच्च मापदण्डमा राख्दै प्रदेशको नीति निर्माणको आवश्यक ड्राफ्ट तयार भएको बताए।
कानुन निर्माणका लागि प्रदेश मामिला तथा विधायन समितिद्वारा सुदूरपश्चिमका ९ वटै जिल्लाका स्थानीय तहबाट सुझाव सङ्कलन गरिएको थियो।