मोरङ । निजी तथा आवासीय विद्यालय नेपाल (प्याब्सन) मोरङको अध्यक्षमा जगत बस्नेत निर्वाचित भएका छन् । १६ औँ अधिवेशनबाट निकटमत प्रतिद्वन्द्वी सुरेन्द्र सुवेदीलाई १७ मतान्तरले पराजित गर्दै बस्नेत अध्यक्षमा निर्वाचित भएका हुन् ।
बस्नेतले १ सय १० मत प्राप्त गर्दा सुवेदीले ९३ मत प्राप्त गरेका हुन् । त्यस्तै कोषाध्यक्ष पदमा मणिराज भट्टराई र नगेन्द्रप्रसाद ढकालबीच दुवैतर्फ १०१ मत बराबरी भएपछि गोलाप्रथामा मणिराज भट्टराई विजयी घोषित भए ।
त्यसैगरी वरिष्ठ उपाध्यक्षमा मोहन बुढाथोकी, उपाध्यक्षमा विष्णु डंगोल, सचिवमा देवी सिटौला, सहसचिवमा दिपेन्द्र राई र सहकोषाध्यक्ष पदमा केदार पौडेल निर्वाचित भएका छन् ।
सदस्यका लागि भएको निर्वाचनबाट महेन्द्र मण्डल, नन्दलाल मण्डल, तेजबहादुर खत्री, रुद्र थापा, इन्द्रकुमार राई, हिराबहादुर मगर र तिलक राई निर्वाचित भएका हुन् ।
निर्वाचित अध्यक्ष बस्नेत चार कार्यकाल सदस्य, दुई कार्यकाल सहकोषाध्यक्ष, एक कार्यकाल कोषाध्यक्ष र एक कार्यकाल सचिव हुँदै यस पटक अध्यक्षमा निर्वाचित भएका हुन् ।
प्याब्सनमा आफ्नो लामो अनुभवलाई प्रयोग गर्दै सम्पुर्ण पुराना कार्यक्रमलाई संस्थागत गर्दै थप नयाँ कार्यक्रमहरु अन्तर्गत शिक्षक कर्मचारीको क्षमता अभिवृद्धि र विद्यालयको व्यवस्थापन सुधारू गर्ने योजना रहेको अध्यक्ष बस्नेतले बताए ।
उनका अनुसार विद्यार्थी संख्या, विद्यालयको वर्ग, भौगोलिक अवस्थाको आधारमा कार्यक्रमहरु थप वैज्ञानिक बनाउँदै लगिने छ ।
मोरङ प्याब्सनमा हाल २ सय १० जना सदस्य छन् । निर्वाचनमा २ सय ६ मत खसेको निर्वाचन आयोगले जनाएको छ ।