मेक इन नेपाल एक्स्पो र नेपाल पश्मिना अन्तर्राष्ट्रिय एक्स्पो माघमा
हाम्रा कुरा
प्रकाशित २०८१ पुष १९ शुक्रबार
594
Shares
काठमाडौँ । “मेक इन नेपाल एक्स्पो २०२५” तथा “नेपाल पश्मिना इन्टरनेशनल एक्स्पो २०८१” माघमा हुने भएको छ ।
नेपाल पश्मिना उद्योग संघको आयोजना तथा नेपाल उद्योग परिसंघको सहकार्यमा एवम् राइजिङ्ग नेपाल प्रालिको व्यवस्थापनमा संचालन हुने उक्त एक्स्पो माघ १० देखि १२ गतेसम्म प्रदर्शनी कक्ष भृकुटीमण्डपमा आयोजना हुने भएको हो ।
यस विशेष प्रदर्शनीमा नेपाली उत्पादनलाई प्रोत्साहन गर्दै “हाम्रै सामान, हाम्रै स्वाभिमान” अभियानलाई अघि बढाउने उद्देश्य राखिएको आयोजकले जनाएको छ ।
मेक इन नेपाल एक्सपोले नेपाली उत्पादनहरूको प्रवद्र्धन गर्दै उद्योग, व्यवसाय र स्थानीय उद्यमशीलतालाई अन्तर्राष्ट्रिय बजारमा स्थापित गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्नेछ ।
त्यसैगरी नेपाल पश्मिना अन्तर्राष्ट्रिय एक्स्पो २०८१ ले नेपालमा उत्पादित उत्कृष्ट पश्मिना सामग्रीहरूलाई प्रस्तुत गर्दै यस क्षेत्रको मौलिकता, गुणस्तर र अन्तर्राष्ट्रिय पहिचानलाई अझ सुदृढ बनाउने लक्ष्य राखेको छ ।
प्रदर्शनीमा नेपालका व्यवसायी, उद्यमी, निर्यातकर्ता, तथा निति निर्माताको सहभागिता रहनेछ । साथै, यसले नेपाली उत्पादनका नयाँ सम्भावनाहरू पहिचान गर्न र विदेशी लगानीलाई आकर्षित गर्न सहयोग पुर्याउने अपेक्षा गरिएको छ ।
यस कार्यक्रमले स्वदेशी उत्पादनको प्रचार–प्रसारका लागि विभिन्न रणनीतिक र सिर्जनशील उपायहरू अवलम्बन गर्नेछ । एक्स्पोमा शुद्ध नेपाली पश्मिना हस्तकला, कृषि, र घरेलु उत्पादनको विशेष स्टलहरू, अनलाईन र डिजिटल मार्केटिङ प्लेटफर्महरूको प्रबद्र्धन, नेटवर्किङ कार्यक्रमहरू, स्थानीय र अन्तर्राष्ट्रिय उद्योगहरूसँग सहकार्य, ब्रान्डिङ क्याम्पेन जस्ता कुराले नेपाली उत्पादनको प्रवद्र्धनका लागि विशेष टेवा पुर्याउने साथै नेपाली उत्पादनलाई प्रोत्साहन गर्दै आर्थिक समृद्धिको दिशामा नयाँ आयाम थप्ने आयोजकको दाबी छ ।
एक्स्पोमा १५० भन्दा बढी स्वदेशी वस्तु तथा सेवाको स्टलहरु रहने छन् । जसमध्ये ४० भन्दा बढी नेपालमा उत्पादित उत्कृष्ट पश्मिनाका स्टलहरु रहने छन । जसमा २० हजार भन्दा बढी अवलोकनकर्ताले अवलोकन गर्ने अपेक्षा गरिएको छ ।
आयोजकका अनुसार यस्ता छन् एक्स्पोका उद्देश्यहरूः
स्वदेशी उद्योग र व्यवसायलाई प्रोत्साहन गर्नु ।
स्वदेशी उत्पादनहरूको बजार विस्तार गर्नु ।
आत्मनिर्भर अर्थतन्त्र निर्माणमा टेवा पुर्याउनु ।
उद्यमशीलता र लगानीको सम्भावनाहरू उजागर गर्नु ।
यस्तो हुनेछ मुख्य आकर्षण
१५० भन्दा बढी स्वदेशी स्टलहरु एकै ठाँउमा ।
२०,००० हजार भन्दा बढी अपेक्षित अवलोकन कर्ता ।
४० भन्दा बढी शुद्ध नेपाली पश्मिनाका स्टलहरु ।
नेपाली रैथाने खानाका परिकारहरु ।
च्याङ्ग्रा देखी पश्मिना सम्मको प्रत्यक्ष निर्माण प्रक्रिया ।
स्वदेशी लुगा तथा पश्मिनाको फेशन शो ।