महिनावारी विभेद अन्त्यका लागि जनचेतना देउडा कार्यक्रम
जनकबहादुर शाही,
प्रकाशित २०८१ पुष १७ बुधबार
803
Shares
हुम्ला । हुम्लामा विकृतिका रुपमा रहेको छाउपडी प्रथा (महिनावारी) कुनै अनिष्ठ नभई प्राकृतिक प्रकिया भएकाले यसलाई सामान्य रुपमा लिनु पर्छ, महिनावारी विभेदलाई तोड्नु पर्छ, महिनावारी हुँदा पर होइन घर भन्ने नाराका साथ स्थानीय स्तरमा जनचेतना जोगाउन सर्केगाड गाउँपालिकाले जनचेतनामुलक देउडा खेलको आयोजना गरेको छ ।
सबैका लागि दिगो खानेपानी तथा सरसफाई स्वच्छता (सुस्वा) आयोजनाको सहयोगमा बुधबार गाउँपालिका केन्द्र सर्केगाडमा वास ईकाइ सर्केगाडले आयोजना गरिएको मर्यादित महिनावारी ब्यवस्थापन तथा पूर्ण सरसफाई सम्बन्धी जनचेतनामुलक देउडा कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिकाका अध्यक्ष ठानबहादुर रोकायाले महिनावारी विभेदलाई तोड्नुपर्ने, यसलाई अन्त्य गर्न महिला मात्र सजग भएर नपुग्ने र यो अभियानमा पुरुषहरूले पनि साथ दिनुपर्ने बताए ।
'महिनावारी भएपछि महिलालाई परिपक्क भएको संकेत गर्छ । हाम्रो गाउँठाउँमा महिनावारीलाई पापको रुपमा हेर्ने गर्दछन्', उनले भने, 'यो पाप नभई प्राकृतिक प्रकिया हो यसलाई अन्यथा लिनु हुँदैन ।'
महिनावारी हुँदा महिलाहरूले विभेदसँगै शारीरिक हिंसा पनि भोग्नु परेको छ । यो विभेद अन्त्य गर्न स्थानीय सरकार एक्लैले नसक्ने भएकाले विभेद अन्त्यका लागि सबै एकजुट हुन अध्यक्ष रोकायाले आग्रहसमेत गरेका छन् ।
पालिकाभरिका महिला जम्मा गरी देउडा गीतको माध्यमबाट महिनावारी भएको बेलामा अवहेलना होइन पोषिलो खानेकुरा खुवाउनुका साथै सरसफाइमा ध्यान दिनुपर्ने, महिनावारी स्वच्छतामा ध्यान दिने जस्ता सन्देश दिँदै देउडा खेलको आयोजना गरिएको सर्केगाड वास इकाइ संयोजक निलाबिक्रम शाहीले बताए ।
महिनावारी भएको समय प्रायः महिलाहरु छाउगोठमा बस्ने, नेपालमा महिनावारी भएको बेलामा छाउगोठमा बस्दा बर्सेनि दुई जनाको मृत्यु हुने गरेको छ ।
महिनावारीको समयमा महिलाले प्रयोग गर्ने सेनेटरी प्याड पालिकाका सबै वडा, सार्वजनिक स्थल, विद्यालयहरूमा पनि सहज रूपमा उपलब्धता गराउन ब्यवस्थासहित महिनावारी हुने सबै महिलाहरूलाई निःशुल्क सेनिटरी प्याडको व्यवस्था हुने गरी पालिकाले बजेटको ब्यवस्था गर्नु पर्ने स्थानीय सचेत महिलाहरुको माग रहेको छ ।