काठमाडौँ । नेपालका अधिकांश क्षेत्र र समुदायमा कात्तिक कृष्ण औंशी अर्थात् तिहारमा खेलिने देउसी भैलो प्रख्यात छ । तर कर्णालीको जुम्ला क्षेत्रमा भने पुस कृष्ण औंशीदेखि पाँच दिनसम्म जुम्ली भैलो खेल्ने चलन रहेको छ ।
स्थानीय जनश्रुतिका अनुसार जुम्ली भैलो प्रचलनबारे अनेक प्रसंग छन् जसले यसको मौलिकता र विशिष्टता उजागर गर्छ। बाह्य संस्कृतिको प्रभावले यस्ता मौलिक संस्कृति विस्तारै ओझेल पर्दै र हराउँदै गएका छन् ।
प्रायः नेपालीले तिहारमा खेल्ने भैलोका बेलामा पर्ने कात्तिक कृष्ण औंशीका दिन अर्थात् दीपावलीको दिन गाईपूजा हुन्छ । जुम्लातिर पुस कृष्ण औंशीको दिनलाई भट्ट्या औँसी पनि भनिन्छ।
त्यो दिन गाईगोरुलाई भटमास पकाएर दिन्छन् । नुन दिन्छन् । कागलाई पनि खानेकुरा दिन्छन् ।
सोही अवसरमा जुम्लाका विभिन्न स्थानबाट राजधानी काठमाडौँमा बसोबास गर्ने जुम्ला बासीहरुले पनि जुम्ली भैलो मनाएका छन् ।
पुस कृष्ण औँशीदेखि जुम्लाका विभिन्न स्थानमा खेलिने भैलो बसाइँसराइका कारण काठमाडौंमा पनि मनाइने गरेको धनादेबी पाण्डेले बताए ।
जुम्लामा साँझमा खेलिने भए पनि काठमाडौंमा त्यो सम्भव नभएको कारण दिनमा भैलो खेल्न टुँडिखेलमा जम्मा भएको उनले बताए ।
आफ्नो संस्कार, संस्कृति बचाउन, देउडा खेल्न, सुखदुःखको कुरा गर्न काठमाडौंमा भैलो खेल्न थालिएको पाण्डेले बताए ।